वेबटिभी खबर
क्यानडामा यो पटकको गर्मीले पछिल्ला वर्षको रेर्कड तोडेको छ । कतिपय व्यक्तिको तातो हावाको कारणले मृत्युसमेत भएको छ ।
क्यानडामा अत्यधिक गर्मी बढ्नुको कारण आकाशमा जम्मा भएको तातो हावाको पहाड (हिट डोम) हो । जो वर्षको एक पटक आउने गर्छ । हिट डोममा धेरै कडा हावाका छालहरु उतारचढाव गर्छन् । तातो हावा वातावरणको माथिल्लो तहमा फैलिएर रहेको हुन्छ । यसमा उच्च दबाव परेपछि बादललाई नै धकेलेर टाढा पुर्याउँछ ।
क्यानडा बाहेक उत्तर पश्चिम अमेरिकामा पनि अहिले अत्यधिक गर्मी भइरहेको छ । अमेरिकाको मौसम विभागकाअनुसार उत्तर पश्चिमको पोर्टल्यान्डर ओरेगनमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ । यससँगै सियाटल, वासिङटनमा ४२.२ डिग्री सेल्सियस पुगेको छ । अमेरिकामा तापक्रमको रेर्कड राख्न सुरु गरेदेखि कै यसवर्ष सबैभन्दा बढी भएको हो ।
अत्यधिक गर्मीका कारण केबलको तार पग्लिरहेकोले पोर्टल्यान्डमा स्ट्रीट कार सर्भिस नै बन्द गर्नुपरेको छ । भारतका केही स्थानमा पनि तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्छ ।
मानिसको शरीरले कति तापक्रम सहन गर्नसक्छ ?
गर्मीको कारणले तार नै पगाल्न सक्छ भने मानव शरीरले कतिसम्म तापक्रम झेल्न सक्छ होला त ? यो प्रश्न स्वभाविक रुपमा उठ्छ ।
मानव शरीर ३७.५ डिग्री सेल्सियस तापक्रममा काम गर्नको लागि बनेको हुन्छ । यसबाहेक तापक्रम दुई–चार डिग्री सेल्सियस तलमाथी हुँदा पनि हाम्रो शरीरलाई एडजस्ट गर्न गाह्रो हुँदैन । तर कुनैपनि तापक्रममा शरीरले राम्रोसँग काम गर्न बाहिरको तापमानकासाथै अन्य कुरामा पनि निर्भर पर्छ ।
अमेरिकाको इन्डियाना विश्वविद्यालयका प्रोफेसर जैकरी जे श्लैडरकाअनुसार मानव शरीरले कतिसम्म गर्मीलाई सहन गर्न सक्छ यसको कुनै सिधा जवाफ छैन ।
प्रोफेसर जैकरीले थर्मल स्ट्रेसको बारेमा धेरै रिर्चस गरेका छन् । मानव शरीरले कति गर्मी सहन गर्नसक्छ भन्ने प्रश्नको उत्तरमा उनले बाहिरी परिवेशकासाथै अन्य कारणमा निर्भर रहने जनाएका छन् ।
अत्यधिक गर्मी भएको स्थानमा व्यक्ति कतिन्जेल बसे, मौसमको आद्रता कति छ, शरीरले पसिना/पानीलाई कसरी निकालिरहेको छ, शारीरिक गतिविधिको स्तर कस्तो छ, मानिसले कस्तो कपडा लगाउँछन् आदि कुराले बढ्दो तापक्रममा शरीरलाई एडजस्ट गर्न मद्दत गर्छन् ।
धेरैजसो गर्मीमा आद्रता बढ्छ, जसकारण पसिना धेरै निस्किन्छ । गर्मीबाट छुटकरा पाउनको लागि शरीर पसिनाको वाष्पीकरणमा अधिक निर्भर रहन्छ । पसिनाको वाष्पीकरण तापक्रममा निर्भर हुँदैन, यसको निर्भरता हावामा पानी कति छ त्यसमा रहन्छ ।
राजस्थानको उदयपुर जोनका मेडिकल एन्ड हेल्थ संयुक्त निर्देशक डा. जुल्फिकार अहमदकाअनुसार गर्मी वा जाडोको समयमा हाम्रो शरीरको भित्रि तन्त्रले जहिले पनि शरीरको तापक्रम ३७.५ डिग्री सेल्सियस बनाइराख्ने काम गर्छ ।
दिमागको पछाडीको भाग जसलाई ‘हाइपोथैलेस’ भनिन्छ, यसले शरीरको भित्रि तापक्रमलाई रेग्यूलेट गर्छ । पसिना निकाल्न, सास लिन (मुख खोलेर) यी सबै एक प्रकारको शरीरभित्र बनेको सिस्टम हो । यो विधिबाट शरीरले तापक्रमलाई नियन्त्रणमा राख्छ ।
हाइपरथर्मिया
डा.अहमदकाअनुसार आद्रता बढ्दा श्वासप्रश्वास सम्बन्धि समस्या बढ्छन् । पसिना अत्यधिक हुँदा शरीरमा पानीको मात्रा पनि कम हुन्छ ।
यस्तो बेला पानी वा तरल पदार्थ शरीरभित्र पुगेन भने शरीरको सामान्य तापक्रम बढ्न थाल्छ । फलस्वरुप ज्वरो आउने स्थिति हुनसक्छ । कहिलेकाँही यो भन्दा बढी जोखिमपूर्ण अवस्था पनि आउनसक्छ । यस्तो अवस्थालाई हाइपरथर्मिया भनिन्छ ।
डा.अहमदकाअनुसार बाहिरको तापक्रम बिस्तारै बढ्दा शरीरले केही हदसम्म सहन गर्नसक्छ । तर अचानक तापक्रममा वृद्धि हुँदा भने गाह्रो अवस्था सिर्जना हुन्छ ।
हिट स्ट्रोक के हो ?
श्वासप्रश्वास तीव्र गतिमा हुनु,
पसिना अत्यधिक आउनु,
शरीरमा जलन हुनु,
पल्स ८५ देखि १०० को बिच हुने अवस्थालाई चिकित्सकले ‘हीट स्ट्रोक’ भन्छन् ।
यो बाहेक धेरै गर्मीले मांशपेशी दुख्ने, छाला चाउरिने हुन्छ । लामो समयसम्म अत्यधिक गर्मी हुँदा यस्तो समस्याको सामाना गर्नुपर्छ ।
कसरी बच्ने ?
हिट स्ट्रोकको उपचार कसरी गर्ने भन्ने बिरामीको अवस्थामा निर्भर गर्छ । लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ ।
हिट स्ट्रोकको लक्षण देखिने वित्तिकै बिरामीको शरीरलाई चिसो बनाउने प्रयास गर्नुपर्छ । पसिना पुछेर पुरै शरीरलाई चिसो कपडाले पुछ्नु पर्छ । यसपछि आवश्यकताअनुसार थप उपचार गर्नुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij