वेबटिभी खबर
कास्की । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे ।
पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ । सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।’
देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ छ । अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उनले उल्लेख गरे ।
‘हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij