Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

यार्सागुम्बा संकलकबाट गत वर्षको तुलनामा ४१ लाख बढी राजस्व संकलन

यार्सागुम्बा संकलकबाट गत वर्षको तुलनामा ४१ लाख बढी राजस्व संकलन

  • 136
    SHARES
  • यार्सागुम्बा संकलकबाट गत वर्षको तुलनामा ४१ लाख बढी राजस्व संकलन

    सुर्खेत । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व संकलन गरेको छ ।

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा संकलनमा गएका छन । उनीहरूबाट उक्त रकम संकलन भएको हो ।

    गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख राजस्व संकलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा संकलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

    गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा संकलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै ४१ लाख बढी संकलन भएको उनले बताए । यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति पाँच सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति दुई हजार र डोल्पा भन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

    कुल संकलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने छ । कार्यालयले यार्सा संकलक र राजस्वको विस्तृत विवरणानुसार डोल्पाको तोइजम क्षेत्रबाट एक हजार पाँच सय यार्सा संकलक पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख राजस्व संकलन भएको छ ।

    यसैगरी, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा संकलक पाटन प्रवेश गर्दा एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा संकलकबाट २९ लाख ७४ हजार पाँच सय राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

    डोल्पाको क्षेप्का क्षेत्रबाट गएका चार सय ७३ जना संकलकबाट तीन लाख ७९ हजार राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीन जना संकलक पाटन प्रवेश गरेका र उनीहरूबाट एक लाख ७७ हजार राजस्व उठेको छ । डोल्पाको त्रिपुरा क्षेत्रबाट चार सय ५० यार्सा संकलक पाटनतर्फ जाँदा दुई लाख ५५ हजार राजस्व संकलन भएको छ ।

    त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट दुई हजार सात सय जना यार्सा संकलक पाटन गएका र उनीहरूबाट ७० लाख ३७ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व संकलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न सात जिल्लाका स्थानीय जाने गरेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij