वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरुले बजेट सहीरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले बजेट कार्यान्वयनका लागि इमान्दारिताको आवश्यकतापर्ने बताए । आलेमगरले भने, ‘इमान्दारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ ।’
राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले राजनीतिक दल मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । फास्ट ट्रयाकमा ऐन बनाउन आवश्यक रहेको उनको भनाइ थियो । सांसद ढुंगानाले सबै काम छाडेर संघीयतालाई बलियो बनाउन ऐन कानुन निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे । ‘अव गणतन्त्रलाई बलियो बनाउन सबै सजग र सचेत तथा संवेदनशील हुनुपर्छ,’ ढुंगानाले भने ।
सांसद गोमादेवी तिमल्सिनाले हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको भन्दै यसबापत राहत पाउनुपर्नेमा जोड दिइन् । उनले विभिन्न कारणले सञ्चालनमा आउन नसकेका रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउनुपर्ने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
सांसद राधेश्याम पासवानले संविधानमा व्यवस्था भएको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सांसद नारायदत्त भट्टले मनसुन नजिकिँदै गर्दा यस वर्षको मनसुन अवधिमा १८ लाख मानिस बाढीपहिरोबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्दै क्षति न्यूनीकरण गर्न पूर्वतयारी थाल्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij