वेबटिभी खबर
झापा । पर्यावरण जोगाउँदै मानव-हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका-३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।
जिल्लाको उत्तरी भेगमा जंगली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन् ।
हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि जंगल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।
जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो ।
आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए । हाल जंगलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव-हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।
उनले भने, ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव-हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।’
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा संकलन गरेका थिए ।
जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ । उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ-आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिए । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij