Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्वास्थ्यविज्ञ भन्छन्-गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्धको खोप लगाउन मिल्छ 

स्वास्थ्यविज्ञ भन्छन्-गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्धको खोप लगाउन मिल्छ 

  • 914
    SHARES
  • स्वास्थ्यविज्ञ भन्छन्-गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्धको खोप लगाउन मिल्छ 

    काठमाडौं । केही अघिसम्म अभाव देखिएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा अब सहज हुन थालेको छ । 

    अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप सोमबार काठमाडौं आइसकेको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज ‘जेनसेन खोप’ आइपुगेको हो ।

    यसैगरि चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोज पनि नेपाल ल्याउने तयारी जारी छ । जसअन्तर्गतको पहिलो चरणमा भेरोसेलको आठ लाख डोज खोप गत शुक्रबार नेपाल आइसकेको छ । नेपालमा अहिलेसम्म कोभिशिल्ड र भेरोसेल खोपको प्रयोग भइरहेको थियो । तर अब अमेरिकन खोप जेनसेनलाई पनि प्रयोगमा ल्याइँदैछ । 

    सुरुमा खोप विकास गर्ने क्रममा धेरै अध्ययन अनुसन्धान भएका थिए । जति अध्ययन, अनुसन्धान भए त्यसमा १८ वर्ष मुनिका बालबालिका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउने भनिएको थियो । 

    स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनु पर्ने यो वर्गलाईसुरुमा खोप लगाउने सूचीमा समावेश गरिएन । तर अहिले विश्वका कतिपय देशहरुले यो समूहलाई पनि खोप अभियानमा समावेश गर्न थालेका छन् ।  अझैपनि नेपाललगायत विश्वका केही मुलुकले गर्भवती र सुत्केरीलाई खोप लगाउनेको सूचीमा समावेश गरेको छैन् । 

    खोपको विकास हुँदै गर्दा यसबारे अध्ययन, अनुसन्धानलाई पनि अघि बढाइयो । फलस्वरुप विश्वका धेरै देशले गर्भवती र स्तपान गराइरहेका महिलालाई कोरोनाविरुद्धको खोप लगाए । खोपले गर्भवती महिला र स्तनपान गराइरहेका महिलामा नकारात्मक असर पारेको प्रमाणित भएको छैन । 

    के भन्छन् नेपालका स्वास्थ्यविज्ञ
    ‘खोप विकास भएको प्रथम चरणतिर गर्भवती महिलालाई लगाउन मिल्ने नमिल्ने अध्ययन नभइसकेकोले अन्यौलको अवस्था थियो,’ स्त्रीरोग विशेषज्ञ किर्तिपाल सुवेदी भन्छन्, ‘अर्को कुरा गर्भवती हुने प्लान बनाइरहेका कतिपय महिलाले पनि खोप लगाउन मिल्ने नमिल्ने भन्ने कन्फूजन थियो । पछिल्लो अध्ययनहरुमा गर्भावस्थामा पनि भ्याक्सिनहरु लगाउने मिल्ने र सुरक्षित रहेको देखिन्छ ।’

    डा. सुवेदीकाअनुसार गर्भावस्थामा महिलालाई कोभिड–१९ संक्रमण भएपछि आमा र बच्चा दुबैलाई ज्यानको जोखिम हुने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउनु पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । त्यहि भएर गर्भावस्थामा भएपनि वा गर्भवती हुने प्लानमा भएकाले खोप लगाउन आवश्यक रहेको उनको भनाई छ । 

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले पनि गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोना भाइरस विरुद्धको खोप लगाउँदा केही असर नपर्ने जानकारी दिएका छन् । 

    डा. पुनकाअनुसार गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाए पश्चात स्वास्थ्य समस्या भएको कुनै अध्ययनमा प्रमाणित 
    भएको छैन । त्यसैले भाइरसविरुद्धको खोपले गर्भवती महिला र स्तनपान गराइरहेका महिलालाई कुनै किसिमको नकारात्मक असर नपारेको अध्ययनले देखाएको छ । 

    महिनावारीमा गडबड
    डा. सुवेदीकाअनुसार कतिपय महिलाले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि महिनावारी गडबड भएको बताइरहेका छन् । ‘तर कुनैपनि अध्ययनमा खोपको कारणले महिनावारीमा प्रभाव पारेको कुरा प्रमाणित भएको छैन,’ उनले भने, ‘खोप नलगाए पनि कतिपय महिलाको महिनावारी गडबड भएको देखिन्छ । त्यसैले  खोप लगाएर महिनावारी गडबड भएको भन्ने कुरा भ्रम मात्र हो ।’

    १८ वर्ष माथीका सबैले खोप लगाउन मिल्ने डा. पुनले बताए । उनकाअनुसार खोप उत्पादन गरेको कम्पनिअनुसार खोप कसले लगाउने कसरले नलगाउने भनेर गाईडलाइन तोकेको छ ।

    पहिले गर्भवती महिला वा स्तनपान गराइरहेकालाई नदिने भन्ने थियो तर अहिले गर्भवती महिलालाई पनि दिन सकिने अध्ययनले प्रमाणित गरेको डा. पुनले बताए । 

    नेपाल सरकारले बनाएको प्रोटोकलका आधारमा कसलाई लगाउन मिल्ने नमिल्ने भनेर छुट्याइएको डा. पुनले प्रष्ट पारे । उनले भने, ‘भेरोसेल खोप नेपालमा गर्भवती महिला र स्नायु सम्बन्धी बिरामीलाई नलगाउने भनेर भनिएको छ । तर अन्र्तराष्ट्रिय स्तरमा खोपले नकारात्मक असरबारे केही प्रमाणित भएको छैन ।’

    अन्तर्राष्ट्रिय प्रयोगलाई हेर्ने हो भने भाइरस विरुद्धको खोपले महिलामा कुनै पनि किसिमको स्वास्थ्य समस्या भएको देखिदैन । त्यसैले भाइरस विरुद्धको खोप पूर्णतया सुरक्षित रहेको स्वास्थ्यविज्ञले बताएका छन् ।  

    खोप लगाएपछि सामान्य स्वास्थ्य समस्या देखिन्छन् । जस्तैः ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने, वाकवाकी हुने लक्षण देखिन्छन् । लक्षणअनुसारको उपचार गरे स्वास्थ्यमा थप जटिलता नआउने डा. पुनले सुझाए । 

    नेपालमा हालसम्म २६ लाख ११ हजार ८०७ जनाले कोभिड–१९ विरुद्धको खोपको पहिलो लगाएका छन् । यसैगरि १० लाख ४१ हजार ३६६ जनाले खोपको दोस्रो डोज लगाइसकेका छन् ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij