वेबटिभी खबर
चितवन । चितवनमा ६४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको संक्रमण बढेको छ ।
गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगु देखिएको छ । प्रमुख रुपाखेतीले भने, ‘डेंगुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।’
सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको छ । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।
विशेषगरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गर्दछ । प्रमुख रुपाखेतीले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेंगुको सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् ।
यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंगु ज्वरो नेपालमा पहिलो पटक २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो ।
उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए । त्यसपछि २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २००९ मा चितवनमा नौ जनामा डेंगुको सङ्क्रमण देखिएको उनले बताए ।
योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंगु पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै आव २०७५/७६ मा एक हजार नौ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो । आव २०७६/७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीन जनामा सङ्क्रमण देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेंगु रोग देखिएको कार्यालयले जनाएको छ ।
आव २०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेंगुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए । आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij