वेबटिभी खबर
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल घुम्न आउने पर्यटक गतवर्ष भन्दा ६ हजार बढेका छन् । राराको सौन्दर्य हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार दुई सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।
रारा पुग्नेमा नेपाली १७ हजार, सार्क नागरिक ६० जना, विदेशी नागरिक दुई सय ३७ जना रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए ।
अघिल्लो आर्थिक वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष रारा पुग्ने पर्यटकको संख्या ६ हजारले वृद्धि भएको हो । रारा घुम्नका लागि फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ ।
सडक र हवाई यातायात सहज हुँदै जान थालेपछी रारामा पर्यटकको संख्या बढ्न थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला, सिन्जा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटप, महादेव मन्दिर, लागुडा महादेव, माझघट्, मुमा गाउँसम्म पुगेर फर्किने गरेका छन् ।
समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही होला । तालको पानी सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो देखिन्छ । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रंगमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिकाे दृश्य वर्णन गर्न नसकिने हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग जस्तो देखिन्छ ।

नकारात्मक पक्ष
अत्यन्त सुन्दर रारा ताल जाने बाटाे कर्णाली राजमार्गलाई व्यवस्थित र ताल्चा विमानस्थलमा नियमित हवाई उडान हुने हो भने पर्यटकको संख्या निकै बढ्ने निश्चित छ । सडकको दुरावस्था र हवाई उडान सुनिश्चित नहुँदा पाएकाे सास्तीका कारण एक पटक आएका पर्यटक पुनः आउन झर्को मान्ने गर्छन ।
यसको साथै नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तरोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवतजावतमै सास्ती भोग्नु परेको पर्यटकहरूको गुनासो रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij