वेबटिभी खबर
काठमाडौं । अनधिकृत रुपमा अमेरिका जान खोज्दा कोलम्बियामा सातजना नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी तीव्र पारेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ एक महिललाई सोही आरोपमा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘केन्द्रबाटै वारेन्ट जारी गरी जिल्लामा पठाइएको हुँदा हामीले एकजनालाई पक्राउ गरेर काठमाडौं पठाइसक्यौं,’ ती प्रहरी अधिकारीको भनाइ छ ।
बिनाभिसा गैरकानुनी रूपमा युवालाई अमेरिका पठाएको अभियोग खेपेका टोपबहादुर जिसी अहिले युक्रेनमा रहेको स्रोतले बताएको छ।
असार ७ गते बिहान अबैधरुपमा अमेरिका जान थालेका नेपाली र बंगलादेशी नागरिक सवार डुंगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको हो ।
त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।
डुंगा दुर्घटनामा परी घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय एन्जल बुढा मगर, तुलसीपुर उपमहानगरपालिका– १२ का २८ वर्षीय हेमराज अधिकारी र बबई गाउँपालिका–५ का २७ वर्षीय रेशम बैंगा मगर बेपत्ता रहेको जानकारी गराउँदै आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको भनाइ छ ।
उनीहरुमध्ये घोराहीका बुढाको परिवारले उनको अन्तिम संस्कारसमेत गरिसकेको छ। उनीहरूका आफन्तले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्।
दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्।
दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउने क्रममा डुंगा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij