वेबटिभी खबर
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भने, ‘सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उनले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताए । नेपालमा थुपै्र कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ छ ।
‘कृषिमा आत्मनिर्भर हुन सके नेपालको अर्बाैँ रूपैयाँ नेपालमै रहन्छ’, उनले भने । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताए ।
प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उनको भनाइ छ । कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij