वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा संसदले नै आवश्यक निर्णय गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रायलमा पत्रकारहरुसँगको छलफलका क्रममा अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने बताएका हुन् ।
मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने पनि उनले जानकारी दिए । अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको सबै अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता पाि उनले जनाए । सोही क्रममा सरकारको भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए ।
अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे । कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले मुलुकको वर्तमान बजेटको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
अर्थ मन्त्रालयले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गर्ने पनि जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघठित रहेको अवस्थामा १५ जेठमा करिब १७ खर्ब बराबरको बजेट अध्यादेशमार्फत ल्याएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij