काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्तिका लागि गरेको सिफारिस रद्द गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती मुलुकका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस देउवा सरकारले रद्द गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया बिनै राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो । ‘संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज भएको हो’ ती मन्त्रीले भने, ‘त्यसमा राजदूत नियुक्ति पनि खारेजीमा परेको हो ।’ परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको थियो ।
प्रतिनिधिसभा विघटित रहेका अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो । कुन देशका लागि को बन्दै थिए राजदूत ? ओली सरकारको सिफारिसमा श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, राजदूत बन्ने प्रक्रियामा थिए । यस्तै ब्राजिलका लागि कुलप्रसाद नेपाल, रुसका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, डेनमार्कका लागि सुमित्रा सुवेदी, बहराइनका लागि युवराज कार्की र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूत सिफरिस भएका थिए ।
कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो । ओली नेतृत्वको अघिल्लो सरकारले राजदूत नियुक्त हुन कम्तीमा स्नातक उत्तीर्ण गरेको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्ने व्यवस्थालाई संशोधन गरी पूर्वमन्त्रीको हकमा स्नातक उत्तीर्ण हुन नपर्ने व्यवस्था गरेको थियो । तर सर्वोच्च अदालतले संशोधित व्यवस्थालाई खारेज गरेर अनिवार्य स्नातक उत्तीर्णको प्रावधान यथावत गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij