वेबटिभी खबर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।
काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको सहयोगको लागि धन्यवाद दिए ।
सिद्धार्थ बैंक एनपीएलको ट्रफी आफैंमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए । ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ । यसमा निकुञ्ज, बन, जंगलको पनि समिश्रण रहेको छ । उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङमा तेन्जी शेर्पाले ल्याएका थिए ।
ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए । ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए । उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमंगमय पर्व एनपीएल भएको जनाए ।
‘अहिलेको पुस्ताले नेपाली खेलाडीहरुको मेहनत र सफलतालाई अंगालेका छन् । क्रिकेट नेपाली युवा पुस्ताको सपना र गौरवको रुपमा रहेको छ । यो खेलमात्रै नभएर अनुशासनको मानक पनि हो,’ उनले भने । त्यस्तै आयरल्याण्डका खेलाडीलाई आशिफ शेखले रन आउट नगरेर स्पोर्टस म्यानसिपको उत्कृष्ट नमुनाको भिडियोका बारेमा चर्चा गरे ।
यसैगरी करण केसीको भ्यालेन्टाइन ब्वाए नामको बारेमा पनि चर्चा गरे । यसैगरी कुशल भुर्तेल बलर कि ब्याटर भनेर प्रश्न गर्दै शतक प्रहार गर्न आग्रह गरे । चितवन राइनोजका विषयमा ओलीले चितवन गैडाज भनेर सम्बोधन गरे । चितवन गैंडाजका कुशल मल्लको पनि आगामी दिनमा थप चर्चा हुने विश्वास गरे ।
लुम्बिनीका कप्तान रोहित पौडेलको नाम सुन्दा नै आफूलाई गर्व लाग्ने बताए । उनलाई जसले जिते पनि देशले जितेको महसुस हुने बताए । विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे ।
कर्णाली याक्सका सोमपाल कामीको योर्करबारे पनि चर्चा गर्दै सफलताको शुभकामना दिए । यसैगरी कर्णाली याक्सले भारतका गब्बर (शिखर) धवनको आगमनले झनै उमंग थपेको बताए।
सुदूरपश्चिमका दीपेन्द्रसिंहको बारेमा प्रशंसा गर्दै उनका कीर्तिमानहरुबारेमा चर्चा गरे । देशको प्रधानमन्त्री भएकाले आठवटै टिमको समर्थन र सद्भाव रहने बताए । पहिला सबैलाई शुभकामना दिने तर जितेपछि बधाई दिन्छु । यसैगरी क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij