वेबटिभी खबर
काठमाडौं । क्षेत्रीय होटल संघ नेपाल चितवनले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेनमार्फत संघले, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आयोजकले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामू परिचित गराउन थप योगदान पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको पनि आयोजकले जानकारी दिएको छ ।
‘सौराहामा हामीले दुई दशक अघिदेखि आयोजना गर्दै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौं ।महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ। महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ ।’
पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता रहेको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुने छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij