सानफ्रान्सिस्को । विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्विटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्विट बिक्रीका लागि लिलामीमा राखेका छन् । उनको त्यो पहिलो ट्विटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो ।
डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्विटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ । सन् २००६ मार्च २१ मा डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्विटर’ अर्थात् ‘भर्खरै मैले ट्वीटर खाता खोले,’ घोषणा गरेका थिए । गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार ‘भ्यालुएबल्स एट सेन्ट’ मा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्विटहरु किनबेच गर्न पाउँछन् ।
शनिबार डोर्सीका ट्विट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्विट खरिद गर्न इच्छा देखाएका थिए । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्विट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका थिए ।
डोर्सीको उक्त ट्विट डोर्सी र ट्विटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् । आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई ‘नन–फंगिबल टोकेन (एनएफटी)’ मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण ९टप सट०को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij