वेबटिभी खबर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरी पुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरी पुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले लेखेका छन् ,‘आज धान्य पूर्णिमाको दिन । पुरानो कृषियुगमा यस दिनको ठूलो महत्त्व छ । असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो । आज ज्यापु दिवस पनि हो ।काठमाडौँ उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइन्छ भने पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमाआज उधौली पर्व मनाइन्छ । नेपालमा बसोबास गर्ने धेरै जसो जातिहरूको आजको दिनमा कुलपूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ। ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना!!’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij