वेबटिभी खबर
काठमाडौं । कमसल ग्यास सिलिन्डर भेटिएपछि धादिङको एउटा ग्यास उद्योगलाई दुई लाख जरिवाना गरिएको छ । एउटै कम्पाउण्डमा सञ्चालनमा रहेका अन्य दुई ग्यास उद्योगलाई सिलबन्दी गरिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ विशालटारमा रहेको कावसन्स इन्डस्ट्रिजलाई दुई लाख जरिवाना गरेको हो । उक्त कम्पनीले उत्पादन गर्ने 'श्रीमाया' ग्यास सिलिन्डर कुच्चिएको र कालो लेदो भएको अवस्थामा भेटिएको थियो । मानव सुरक्षासँग प्रत्यक्ष जोडिएको ग्यास सिलिन्डर कमसल भेटिएपछि प्रजिअ घिमिरे नेतृत्वको अनुगमन टोलीले तत्कालै उक्त कम्पनीलाई जरिवाना गरेको हो ।

त्यसैगरी सोही पालिका वडा नम्बर-९ मझिमटारमा रहेको त्रिवेणी ग्यास उद्योग, हिमालयन पेट्रो केमिकल प्रालि 'त्रिवेणी' र राजधानी ग्यासको अनुगमन गर्दा दुवै एकै कम्पाउण्डमा सञ्चालनमा रहेको पाइएको थियो । अनुगमन टोलीले राजधानी ग्यासको सिलिन्डर भेटेपछि अनुमतिको कागजात मागेको थियो । कम्पनीले कागजात पेश गर्न नसकेपछि सिलबन्दी गरेको हो ।

सिलबन्दी गरिएको कम्पनीलाई मापदण्ड पुरा गरेर जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्र सञ्चालन गर्न भनिएको छ ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा बजारमा बिक्रीका लागि पठाउन लागेको सिलिन्डर तौल गर्दा कम तौल पाइएको, कुच्चिएको सिलिन्डरमा समेत ग्यास भरिएको, सिलिन्डरमा कम्पनीको नाम र परिणाम जस्ता विवरण मेटिएको, ग्यास भरेपछि भल्ब जाँच्ने उपयुक्त व्यवस्था नभएकोले कारबाही गरिएको जनाएको छ । सम्पूर्ण कागजात र सुरक्षा उपाय अवलम्बन गरेर मात्र कम्पनी सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij