काठमाडौं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै उपत्यकाका यातायात व्यवसायी सवारी साधनसहित आन्दोलित भएका छन् । बिहीबार बिहान १० बजीदेखि उनीहरुले काठमाडौंको चक्रपथका सबैजसो चोक र माइतीघर, नयाँ वानेश्वरलगायत मुख्य चोकमा सवारी साधनसहित प्रदर्शन गर्दा यातायात सञ्चालन प्रभावित बनेको छ ।
कार्यालय समयमा यातायात व्यवसायीले आ–आफ्ना सवारी साधनसहित र्याली निकालेका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ०६७ सालमा सरकारले तत्कालीन इन्धन र बजारको महंगीका आधारमा भाडा समायोजन गरे पनि त्यसयता यातयात वयवस्था विभागदे भाडा समायोजन नगरिदिएको भन्दै चालक, सहचालकसहित व्यवसायी विरोधमा उत्रिएका हुन् ।
सरकारले २१ असारबाट सार्वजनिक यातायात सञ्चालन गर्न आदेश दिए पनि चालक, सहचालकलाई कोरोनाविरुद्धको खोप उपलब्ध नगराएकोमा उनीहरु आक्रोशित छन् । इन्धनको मुल्य र बजारको महंगीका आधारमा सवारी साधनको भाडा बढ्नुपर्ने, चालक, सहचालकले कोरोनाविरुद्धको खोप यथाशीघ्र पाउनुपर्ने उनीहरुको माग छ ।
यस्तै २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, निषेधाज्ञामा सवारी नचलेको समयको नवीकरण तथा जरिवाना छुटलगायतका माग चालक र व्यावसायीले राखेका छन् । यातायात व्यावसायीहरुले टुटल र पठाओजस्ता निजी कम्पनीहरुले यातयाात व्यवस्था ऐन ०४९ विरुद्ध निजी सवारीमा भाडा लिएर यात्रु ओसार्दा भाडाका ट्याक्सीको रोजगारी गुमेको भन्दै विरोध जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij