वेबटिभी खबर
काठमाडौं । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकार भन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ ।
काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन हुन थालेको छ । यसको पहिलो प्रयोग स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा गरिएको छ । यसपछि महानगरपालिका र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्नेछ ।
प्रयोगशालामा फलफुल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरविपिआर) छ । दुधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्व सेन्ट्रिफ्युज, दुधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दुधको सोलिड नट फ्याट (एसएनएफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए।
संकलित खाद्य पदार्थ नमूनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि प्रयोगशालामा छ ।खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच सम्झौता गरेर यो प्रयोगशालाको भ्यानलाई अनुगमनमा प्रयोग गर्न थालिएको हो ।
अनुगमन निरीक्षणमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोवायोलोजिष्ट तथा विज्ञसहितको संयुक्त टोली हुनेछ । महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यस अघि पनि संकलन भएका खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । त्यसको नतिजा आउन बाँकी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij