Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

   गुरुका कारखानामा

   गुरुका कारखानामा

  • श्रावण ९, २०७८ शनिवार ११:१५ बजे
  • 1.2K
    SHARES
  •    गुरुका कारखानामा

    घरमा श्राध्द गर्ने दिन रहेछ । बाले हजुरबाको तिथिमा श्राध्द गर्ने त्यसदिन । घरको मजेरीमा दुईलाइन राडी बिच्छ्याइएको थियो । यो दुईलाइनको बीचको भागमा समीधामा अग्नि प्रज्ज्वलित भएझैं लाग्दथ्यो मलाई । 
    चुलोतिर आमा चोलोको ठाउँमा बर्की बाँधेर पकाई तुल्याई गर्दै हुनुहुन्थ्यो । सेल, फुरौला, फिलुंगेको र फर्सीका बियाँको धूले अचार अनि लेकका झ्याले आलुमा इस्कुस र हरियो खोर्सानी पकाएर अमिलो पारेको अचार भात, दाल, तरकारी आदि पकाएको झल्याक झुलुक देख्दथ्यें पनि । दुईलाइन राडी बिच्छ्याइएको मध्ये एउटामा बा बस्नु भएको थियो र अर्कोपट्टि स्वर्गीय पण्डित टंकनाथ भण्डारी र स्व.गुरु खगपति लम्साल पढ्दै हुनुहुदो रहेछ ।

    images

    म खेल्दै चकचक गर्दै टङ्कनाथ गुरु भएपट्टि पुगेछु । यो २०१७ सालको कुरा हुनुपर्दछ । मलाई टंकनाथ गुरुले लत तेरो नाउँ लेख्न जान्दछस् भन्नू भयो र बाको कलम दिनुभयो । मैले पनि बाको त्यो ठूलो टाउके कलम सकी नसकी समाएर ‘पुण्य प्रसाद’ लेखिदिए । अहिले सम्झँदा मलाई लेख भन्ने गुरु त थाहा पाएँ तर मलाई यतिसम्म सहजै लेख्न सिकाउँने गुरु भने थाहा  पाउन सकिनँ । मेरो अन्दाजमा मेरा बाले नै  यो काम  गर्नु भएकोमा शंका रहेन । हुन त ताते तातेदेखि तोते बोल्न, हाँस्न बोली फुटाउन सिकाउने, धर्तीमा पदार्पण गराउने मेरो प्रथमगुुरु मेरी आमापछिका दोस्रा गुरु रेहेछन् मेरा बा ।
    यसपछि मैले लेख्नै पर्ने कुरा के छ भने मेरा आमा र बाले नै मलाई यो धर्तीमा ल्याउने गुरुत्तर काम गर्नु भयो र वहाँहरू नै मेरा पहिला गुरु हुनुहुन्छ ।
    त्यसपछि मेरी दिदी, ठूलो दाजु, माल्दाजु मेरा घरका गुरु हुनुहुन्थ्यो । 
    वहाँहरूकै प्रेरणाबाट म औपचारीक शिक्षाका लागि घरनजिकैको राष्ट्रिय प्राइमरी स्कुल भर्ना भएँ । स्कूलमा पढदै जाँदा श्री पञ्चमी अर्थात् सरस्वती  पूजाको समयमा हेडसर कृष्णबहादुर गुरूङले सरस्वतीको नक्सा बनाउँदै हुनुहुन्थ्यो । सेतो साडीमा पहेंलो पारी र सेतै हाँसमाथि बीणा र पुस्तक बोकेकी, बोलीहाल्लिन् कि भनेजस्ती सरस्वती माताको चित्रले मेरो बाल हृदयमा प्रभाव नपारी छाडेन । 

    त्यसपछि सरस्वती माता राख्ने श्रृङ्गारिएको खट, सरस्वतीको मूर्ती, बत्ती र झिलीमिलीले साक्षात् सरस्वतीमातासँगै भेट भएजस्तो भान हुन्थ्यो हामीलाई गुरुङसर सुन्दर अक्षरका धनी हुनुहुन्थ्यो । वहाँ दाजिलिङबाट आउनुभएको अरे । मैले अंग्रेजी सर या स्कूलमा पढाउने गुरुको सम्झना गरेको यो पहिलो पटक थियो । वहाँ मेरा पहिलो औपचारिक गुरु हुनुन्थ्यो ।

    म कक्षा छ मा इलाम पद्म आदर्श हाइस्कूल पढ्दै थिएँ । एकदिन देवीदास श्रेष्ठ सरले मलाई कक्षाबाट अफिसमा  बोलाउनु  भयो र कक्षा छ का सेटै पुस्तक  दिनुभयो । त्यतिबेला पुस्तक  किन्नै पाइँदैनथ्यो । यसले मलाई अध्ययनमा असाध्यै प्रेरणा  मिल्यो । वहाँ हेडसर हुनुहुन्थ्यो । अंग्रेजीका विद्वान् वहाँ अमेरिकन पिसकोर्स सर मिसका कक्षा खाली हुँदा फुर्सदमा हाम्रो कक्षामा आउनुहुन्थ्यो र ती विदेशीकोभन्दा राम्रोसँग हामीलाई अंग्रेजी भाषाका प्रारम्भिक पाठहरू रोचक ढंङले सिकाउनुहुन्थ्यो । होचाकदका, गोरा देवीदास सर सधैं सफा र कृज गरेका औपचारिक पोशाकमा अकर्षक व्यक्तित्वका साथ हँसिलो मुद्रामा देखिनुहुन्थ्यो ।

    ‘इज’, ‘एम’, ‘आर’, ‘वाज’, ‘ह्याभ’, ‘ह्यज’, ‘ह्याड’, एक्जुलरी भर्वहरू हुन् भन्दै नाँचेर अंग्रेजी ग्रामर सिकाउने अर्का एक रोचक अंग्रेजी गुरु हुनुहुन्थ्यो । वहाँ अंग्रेजी ग्रामर आचार बेगरको खाना हो, त्यसैले यसलाई रमाइलोसँग पढ्नु र बुझ्नुपर्छ भन्नुहुन्थ्यो हामीलाई । दौरासुरुवाल भादगाउँले टोपी, काला छालाको जुत्ता, मौसमअनुसारको कोर्ट, हरदम कृज गरेका र सफा चम्कने कपडामा सजिने कमल पराजुली सरका मुखमा ल्वाङ सुपारी हुन्थ्यो कक्षामा पढाएको बखतबाहेक ।

    हामीलाई कृषि शिक्षा र फुर्सदमा अंग्रेजी सिकाउने अमेरिकन लेस सरसँग हामी अंग्रेजीका कुरा गथ्यौं । नहिच्किचाई वहाँ भन्नुहुन्थ्यो म कमलसर जति अंग्रेजी जान्दिनँ । वहाँ सेन्टजेसेभ कलेज दार्जिलिङको विद्यार्थी हुँनुहुदोरहेछ । म मेरा यी श्रद्धेय गुरुहरूको  बराबर स्मरण गरिरहन्छु ।

    लेस लिभर अमेरिकन पिसकोर कार्यक्रममार्फत हामीलाई नयाँ शिक्षा योजनाको सुरूमा  हाम्रो  स्कुलमा  कृषि  पढाउने  गुरु हुनुहुन्थ्यो । कृषि प्राक्टिकलसमेत गराउनु हुन्थ्यो । यसबाहेक विभिन्न अतिरिक्त क्रियाकलाप खेलकुदतिर पनि वहाँ रूचीपूर्ण रूपले सिकाउनु हुन्थ्यो । मेरो वहाँ स्मरणीय  गुरुहुहुन्छ । श्री चन्द्रधर काफ्ले शास्त्री संस्कृतका विद्वान् गुरु, सुन्दर हस्ताक्षरका धनी वहाँ पनि नेपाली पोशाकमै आउनुहुन्थ्यो । गुरुले हामीलाई  छ सात कक्षामा संस्कृत र आठ नौ कक्षामा नेपाली व्याकरण र साहित्य  पनि  पढाउनु  हुन्थ्यो । संस्कृत गुरुकुल परम्परालाई रुचाउने यी आदरणीय गुरुलाई यो  संस्मरणमा नसम्झे मेरो यो लेख अपूर्ण हुन्छ ।

    मलाई शिक्षादिने अर्का गुरु हुनुहुन्थ्यो आदरणीय कुलबहादुर गुरुङ । वहाँ नेपाली कांग्रेसको जेष्ठ नेता पूर्वमन्त्री, सांसद हुनुहुन्छ । वहाँले हामीलाई  भूगोल पढाउनु हुन्थ्यो । हातमा चक लिएर कालोपाटीमा स्वाट्ट घुमाउँदा  एकै पटक गोलाकार पृथ्वीको आकृति दुई सेकेण्डमै बन्दथ्यो । एकैछिनमा भरिन्थ्ये महाँदेशहरू अनि विषयवस्तुमा हुन्थ्यो प्रवेश ।

    हामीलाई पढाउँदै गर्दा एक्कासी नेपाली राष्ट्रिय पोशाकमा देखिने त्यो  व्यक्तित्व स्वाट्टै हराएको थियो । एउटा आकर्षक व्यक्तित्व गुरुङ  सरलाई नियाल्थ्ये मेरा कलिला आँखाहरू । पछि वहाँलाई ०५०÷५१ मा काठमाडौंमा भेटें । म यो झल्को जीवनभर बिर्सन्छुजस्तो लाग्दैन ।

    मलाई, ‘ए प्लस बि होलस्कवायर इजिकल्टटु ए स्क्वायर प्लस ट्वाइज ए बि प्लस बि स्क्वायर’लगायत गणित र ज्यामिति पढाउने अर्का स्मरणीय  गुरु हुनुहुन्थ्यो कैलाससिंह बिएस्सी सर । वहाँ बिहारबाट ल्याइनु भएको थियो । इलामका पूर्वक्याम्पस चिफ श्री जयप्रकाश नारायण सिंहको माध्यमबाट । अत्यन्तै कडा मिजासभित्रका नौनी । पाठ नजाने फलामे हात चुप लाग्दैनथ्ये वहाँका ! जान्ने र सिक्ने प्रयत्न गर्नेका लागि स्याबासी र प्रसंशाका लागि वहाँ पछि पर्नुहुन्नथ्यो ।

    वहाँले आफ्नो सम्पूर्ण जीवन इलाममै शिक्षण गरेर बिताउनुभयो । वहाँलाई आफ्नो देश भारत  होइन नेपाल भयो । यसै प्रसंगमा म भानुभक्त मावि मंगलबारेमा शिक्षण गर्दा त्यहाँ एकजना बिएस्सी सर रामसागर चौधरी  हुनुहुन्थ्यो । कतिपय गणितका कुराहरू वहाँले मलाई पनि  सिकाउन  भएको छ । म काठमाडौतिर हुँदा वहाँ निवृत्त हुनुभयो । पेन्सनको व्यवस्था र रैरकम मिलाउन यहाँ मसँगै बस्नुभयो । पछि दोश्रोपटक पनि बाँकी रहल पहल कामका लागि मेरोमा मेडमसहित आउनु भएको थियो । वहाँ पनि बिहार सीतामडीको हुनुहुन्थ्यो । पछिल्लो पटक आउँदा वहाँलाई सुगर भएको रहेछ । मैले वहाँलाई अब पेन्सन कहाँबाट लिने भनी सोध्दा वीरगञ्जबाट भन्नुभयो । अनि मैले, ‘पेन्सन वीरगञ्जबाट लिएर बेलुका बास रक्सौलतिर बस्नुहुन्छ कि ?,’ भनेर सोध्दा, ‘होइन हौ नानी म त वीरगञ्जतिरै बस्छु । यतै सुरक्षित महसुस हुन्छ, यसरी बस्दा पाएसम्म नेपालतिरै बस्छु,’ भन्नुभयो ।

    मेरो माध्यमिक शिक्षाको अध्यनपछि इन्टरमिडिएट अध्ययन इलामकै महेन्द्ररत्न बहसमुखी क्याम्पसमा सुरूहुने भयो । स्कलरसिपका लागि एउटा टाइपिङ पेपरमा हातले लेखेर निवेदन दिएँ । प्रवेश परीक्षामा म १६ जिल्लाबाट चौथो भएको थिएँ । पूर्वजर्मनीका राजदूत एवम् भाषाविद् डा. नोवलकिशोर राई सहायक क्याम्पस चिफ शिक्षापट्टि हुनुहुन्थ्यो । वहाँले यति सुन्दर अक्षर यो तपाईंलेनै लेख्नु भएको हो ? भन्नुहुँदा मैले तुरून्त अहिल्यै लेखिदिन्छु भन्दा एकछिन मलाई हेरेर हुन्छ जानुहोस् भन्नुभयो । मलाई नेपाली भाषाका उच्चारण, व्याकरण र भाषाका धेरैकुरा वहाँबाटै प्राप्त भयो । मेरा स्मरणीय गुरुसँग अहिले पनि भेट हुने गर्दछ ।

    इलाममै अर्का अंग्रेजी गुरु हुनुहुन्थ्यो आदरणीय महेन्द्रबहादुर पाण्डेसर । व्यक्तित्व पनि त्यस्तै । एड्भान्स इङ्लिस पढदा पढ्दै नेपालको इतिहास, राजनीति, समाज, अर्थतन्त्र सबै पढाउनुहुन्थ्यो वहाँ । त्यस्तै व्यक्तित्व थियो वहाँको । मुखाकृति चाहिँ अंग्रेजी बोल्नकै लागि बनाएको जस्तो । वहाँ सांसद तथा परराष्ट्र मन्त्रीसमेत हुनुभएकोछ । अत्यन्तै सहजपाराबाट हामी भित्र पसेर निस्कने हँसिलो स्मरणीय गुरु हुनुहुन्छ ।

    मेरा राजनीतिकका गुरुहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सहिद रत्नकुमार वान्तवा हुनुहुन्थ्यो । वहाँहरूको व्यक्तित्वकाबारेमा बेलिविस्तार गरिरहनु पर्दैन ।

    म यो गुरु पूर्णीमाका अवसरमा चन्द्रप्रसाद आचार्य, झम्क मगर, रामभक्त ढकाल, नरेन्द्र न्यौपाने, नारायण श्रेष्ठ, मानबहादुर खड्गी, केशवमान शाक्य, मंगलदास कर्माचार्य, चम्पा देवान, चिरिञ्जीवी शर्मा, माधव ढकाल, पुष्पलता राई, दैवज्ञ न्यौपाने, देवी गौतमलगायत सम्पूर्ण गुरुहरू मेरा आदर्श हुनुहुन्छ । उहाँहरू सदा रस्मरणीय हुनुहुन्छ ।

    यसबाहेक मेरा परिवारभित्रका आदरणीय दाइहरू हरिकृष्ण घिमिरे र विष्णु कुमार घिमिरेबाट पनि मैले धेरैकुरा सिकेको छु । वहाँहरू पनि मेरा गुरुका कोटीमा स्मरणीय हुनुहुन्छ । वहाँहरूकै प्रेरणाबाट पढ्नुपर्ने कुराको चेत, अनुशासन शिष्टता, भद्रताजस्ता महत्वपूर्ण मानवीय भूषण म अहिलेसम्म प्राप्त गरिरहेक छु ।

    यीनै कुशल वौद्धिक भट्टीहरूबाट मैले आफ्नो व्यक्तित्व बनाउने अवसर पाएँ । सम्झदा लाग्छ यस्ता गुरुहरू पाउँनु भाग्यकै कुरा हो । वहाँहरूकै कुशल बौद्धिक शिल्पले म यो स्मरणको ठाउँमासमेत आएको छु । मेरा गायत्री गुरु  अनन्त लुइँटेललगायत ज्ञात अज्ञात समस्त गुरुहरूमा हृदयदेखि नै आभारी छु ।
    अन्तमा गुरु शव्दको अर्थ केलाउँदा ‘गु’ भनेको अँध्यारो र ‘रु’ भनेको प्रकाश या त्यो अँध्यारोलाई हटनउने हो । ज्ञानको ज्योतिले हाम्रा अज्ञानताका अन्धकार हटाइदिने व्यक्तित्व रहेछ गुरु । बृहत् नेपाली शव्दकोशमा कुनै पनि विद्या या शिक्षा प्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ भनेर अर्थ्याइएको छ । बेदव्यास शास्त्रवेत्ता वेद र पुराणका रचियतासमेत सबैका गुरु थिए । पण्डित्याइँ गर्ने, गाडी चलाउने, मिल चलाउनेलाईसम्म गुरु भनेर गुरुको अर्थ संकुचनसमेत भएको छ । तर कठीन, गरुंगो, महत्वपूर्ण, जो कोहीले गर्न नसक्ने गुरुत्तर काम गर्ने व्यक्ति नै गुरु हुन् । आज सम्पूर्ण गुरुमा हार्दिक दण्डवत छ ।
     

  • सम्बन्धित विषय:

  • # साहित्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology