Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मौन प्रेमी       

मौन प्रेमी       

  • श्रावण ९, २०७८ शनिवार १३:०१ बजे
  • 1.8K
    SHARES
  • मौन प्रेमी       

    म पागललाई उनीसँग प्रेम भएको हो कि म पागलझैं भएर उनलाई प्रेम गरेको थिए थाहै भएन । भुल्न खोज्नु भन्नु नै याद गरेरै सम्झना मेटाउनु हैन र ? यादको डोरी जति नै समाए पनि हात लाग्ने फिक्कापनले मन अमिलियाउनु अनि त्यही अमिलोपनमा मृगतृष्णाझैं अलमलिनु पनि जायज छ यहाँ । यदि याद उनकै हो भने ।

    मेरा हरेक कुरा उनीसँग थिए, खुसी रोदन हाँसी मजाक । बस् थिएन त मेरो लागि उसले सोच्ने ती भावनाहरू । मजसरी उसको भए ऊ मजसरी मेरो भइन । कहिलेकाहीँ कोही यस्तो खास लाग्छन् कि आफुसँग उनीहरू नभए पनि ती यादहरूमा जीवित उनीहरूको सम्झना साह्रै मनमोहक लाग्छन्, त्यस्तै थिए उनको याद ।

    गुलाफी सारीमा बाहिरी कालो कलरको स्वेटर, इम्पोर्टेन्डझैं लाग्ने लेडिज झोला, हातमा एक दुईवटा डायरी, मुहारमा छुट्टै रौनक, शान्त हावामा उडेका ती केश, सग्ला सिलिक्क परेका लामा औंलाहरुले बेला–बेलामा कपाल मिलाउँदा, आफ्नै तालमा हल्लिरहेका कानको झुम्का, सेता नाडीमा निलो फित्तावाला इम्पोर्टेन्ड घडी, गहिरा ती काला आँखा सायद केही भन्न खोज्दै थियो परिचितझैं ठानेर । उनको आँखाले उनले हैन, हो त्यहि पल हाय ! त्यो नजरमा के थियो कुन्नी बस् हेरिरहे । चुरोटको अन्तिम सर्कोको धुवाँ बिलाएसँगै उनी पनि लुप्त भइन् । मनमा धेरै कुरा आउन थाल्यो । त्यो सधैं आउने स्टाफ भेन आज २÷४ मिनेट ढिलो भैदिए के हुन्थ्यो र ? ड्राइभरलाई निन्द्रा अलिबेरसम्म लागेको भए के हुन्थो र ? ट्राफिक जाम ?  पन्चर भैदेको भए ? दुःखित हुँदै, स्कुलका विद्यार्थीझैं अवोध प्रश्नहरूको चाङ लिएर म कार्य व्यस्ततामा लिन हुने कोसिस गरेँ । हरेक आउने फाइलको पन्नामा उसैलाई देख्न थालेँ । त्यही रूप, अनुहार मनस्पटलमा घुमिरहनु स्वास्थ र मनको लागि घातकसिद्ध भइरहे छ दिनानुदिन ।

    हरदिनको सुरुवात राम्रो हुने कामना सबैको हुन्छ तर म चै २/४ मिनेट मात्रै भए पनि उसलाई अझ बढी हेर्न पाउँ भन्ने अपेक्षामा गर्दै विभिन्न अप्रिय घटनाको आशा गर्नु । भेनको खराबी, ट्राफिक जाम आदि–इत्यादिको कामना गर्नुमा के म अपराधी नै सिद्ध हुन्छु त ? फगत कुविचारलाई लत्याई दिनको तेस्रो अनि अति प्रिय चुरोट तान्नमा लिन हुन्छु । धुवाँ केही बेरमा बिलाउँछ तर उसको याद । आफैंमा एउटा मौन प्रश्न कसले दिने,  को जबाफदेही, को हो दोषी, सबकुरा मौन भइदिन्छ उनको उपस्थितको भान मलाई हुन्थ्यो तर उ निस्फिक्री आफैंमा रमाइरहेको देख्छु ।

    घरीघरी मोबाइलको स्क्रिन स्क्रोल गरिरहन्छे तल–माथि । अनि कहिलेकाहीं हाँस्छे फिस्स ! तँ नै भन्न मन लाग्यो । तिमी भनेर सम्बोधन गर्दा भन्दा तँ भन्दा अझ आफ्नै लाग्यो । आफैं मुसुक्क हाँस्छु । हुन त उसलाई के फरक पर्छ र । तँ भने नि तिमी भने नि, मेरो मन मेरै मर्जी । कहिलेकाहीं प्रेममा  लाडिएर तँ भन्दाको स्वाद पनि मिठै हुन्छ । प्रेम आफैंमा एउटा मौन शब्द हो ।

    न देखाएर देखिन्छ । बस् महसुस गर्नु अनि त्यस्मौ लिन हुनु हैन र ? मैले मौनतामै उसलाई प्रेम गरे । उसको सहमतिबिना नै । प्रेम र प्राप्तिको मतभेदमा म रुमलिन चाहन्नँ, राम्रो लाग्छ त के गरूँ ।

    डर लाग्छ कुनै दिन  झुक्किएर एउटै कफीसपमा हाम्रो भेट भयो भने । खैर कही छैन ! मैले उसलाई प्रेम गर्छु आफ्नै ठानेर तर उसको त म एक अपरिचित व्यक्ति । जोसँग कुनै सम्बन्ध नै छैन । उसले खायको कफीको कप र मैले खाएको एउटौ भयो भने, उसले समाएको सुगर क्युब टङ्ग मैले पनि छोए भने, त्यो आलिसान कुर्सीमा उसले लगाउने फ्रेन्च पर्फुमको बासना कहींकतै रहिरह्यो भने । त्यो स्पोन जसले उसको हातको कोमल स्पर्शमा मग्नहुँदै क्यापाचिनो स्वादमा डुबेर गर्मीको सयर गर्छ । मेरो लागि सबैभन्दा भाग्यशाली स्पोन हो । अनि बिन्ती गर्दै सोध्ने थिए उनको स्पर्श अनि कोमलता, ती भावहरू जसमा मिठास थियो उनको नामको ।

    ऊ त मेरो लागि घामजस्तै छिन् उनलाई देखिन भने दिन नै फिक्का लाग्ने । जति नै चुरोटको धुँवा ताने पनि निकोटिन स्वादले उसको याद मिटाउन नसक्ने । उसको स्वाद फिस्स आफैं हास्छु । मैले त बस् हेरेको हो, देखेको, महसुस गरेको अनि आफ्नो ठाँनेको ।

    तर स्वाद ! निस्तब्ध छु । केहीक्षणअघिको आफैंले बोलेक कुरामा आफ्नै सहमत जुट्न कठिन भइदिन्छ । मेरो सोच र अहिलेको स्थितिबिच घमासान युद्ध चलिरहन्छ । कल्पनामा उसको यादलाई लिएर आफ्नै ठान्नु एउटा मूर्खता हो । प्यारो अनि अति प्रिय यादकै पीडामा रमाउनुको स्वाद छुट्टै हुन्छ । हो त्यहीँ स्वाद भनेको । आखिर जित भयो । मेरो सोचले चलाएको ब्रह्मास्त्र त्यही थियो । कुनै कुनै युद्धमा दवैै विजयी हुन्छन् । मेरो सोच र अहिलेको अवस्थामा त्यस्तै भइदियो यहाँ । मेरो मन मेरो मर्जी ।

    ऊ हिँड्ने बाटो, त्यही गल्ली, त्यो भेन, त्यो अमूर्त रूप सबै प्यारा लाग्ने । बादलहरू एक आपसमा म्याराथुन दौडमाझैं आफ्नो गन्तव्यमा लाग्दै थिए । तर मेरो कुनै गन्तव्य थिएन । उसलाई नदेखेको दिन यताउता भौतारिनु अनि झन्डै एक डब्बा चुरोट तान्नु पनि रेसको ट्रयाक भुलेर रुमलिनुजत्तिकै हो ।

    नजिकैको बगैँचामा फूलहरु तछाड–मछाड गरेर आफ्नो सौन्दर्यको प्रदर्शन गर्दै थियो । तर पनि मेरो आँखा त्यही गुलाफमै अड्किन्छ । त्यही फूल जसले उसको झल्को दिन्छ । ऊ नहुँदा उसको याद मेटाउँछ । उनी पनि फूल नै थिइन् मेरो लागि अति प्रीय । गुलाफजस्तै पत्रै–पत्रमा सजिए कि सौन्दर्यले भरिपुर्ण । हावाको लहरसँगै नाचेका ती गुलाफको दृष्य डिसको अनि पबमा यौवनको नशाले चूर भएर नाच्ने युवतीभन्दा कयौं गुणा राम्रा र शालीन लाग्छन् । सँगैको रहेको भोगटेको रुख । चिल्ला, राम्रा पातबाट झरेका साना पानीको केही थोपाले गुलाफलाई प्राकृतिक सावोर दिएको थियो । मैले पनि उसलाई सम्झे लाजै नमानी । मोबाइलको घण्टी बज्छ । मेरो कल्पनाको मेरो दुनियाँमा दखल दिने साथीलाई पनि माफ । चुरोटको अन्तिम सर्कोसँगै उसको यादलाई हावामा यत्रतत्र छोडिदिएँ ।

    मन पराउन के नै गर्नुपर्छ र । सानो मुटुभरि लगभग पाँच फुट चार इन्च नेपाली स्ट्यान्डर्डको मान्छेलाई आफ्नै मनभित्र सुटुक्क राखेर दिनरात याद गर्नु, घरीघरी कल्पना गर्नु, सँगै नभए पनि भएझैं गर्नु, आउने–जाने हरेक पवनको वेगलाई खबर सोध्नु र आफ्नो हाल बिल्कुलै न भन्न आग्रह गर्नु ।

    एउटौ मान्छेलाई कयौं पटक सपनीमा देख्नु, अनि असीमित प्रेम गर्नु आदि इत्यादी । जो मुटुभित्र बस्छ नि उसैलाई पनि भान हुन्न कि कस्ले उसलाई आफ्नो नितान्त आफ्नो मनभित्र लकरमा डिपोजिड गरिसकेको छ । अनि सधैंका लागि पासवर्ड भुलिसकेको हुन्छ । उसलाई थाहै नदिई यति धेरै माया गर्नु के ठिक होला र ? आफै मौन । प्रेमको परिभाषा थाहा हुने ले यसको व्याख्या गर्नु । म त बस् मौनप्रेमी हुँ मलाई मेरो मौन प्रेममा नै सही लाग्छ । प्राप्तिको बाटो मैले कहिल्यै सोचिनँ ।

    मिलन अपेक्षा नगरेको होइन तर के मैले सोचजस्तै छिन् त उनी ? के उनले हरेक कुरा मैले मेरो सोचबाट निर्मित गरेझैं गर्ने छिन् त ? सुस्तरी बहने हावाले आँखाअगाडि आएको साह्रै मन पर्छ मलाई । के सधैं उनले आँखा मिलाउँदिनन् त ? उनी रुझेको त्यो पल एकदम अलग देखिन्छन् । के सधैं पानी पर्ला र ? मैले तान्ने चुरोट उनलाई ठीक लाग्ला र ? माइनस जिरो पोइन्ट टु फाइभ कालो कलरको चस्मा लगाउने म । रेबन, पोलिसजस्ता ब्रान्डडेडको जमाना छ । के पावर ग्लास लगाउने उनको रोजाइ होला त ? शारीरिक कसरतमा त्यति धेरै चासो न दिने म । सुगठित र सिक्सप्याकको जमानामा मेरो भद्दा अनि केही इन्च बाहिरिएको भुँडीले उनको मन लोभ्याउँछ त ? आदि–इत्यादी धेरै भौतिक, जीवनस्तर, रहनसहनमा भिन्नता छ यथार्थमा । यी सब अमेल हुँदाहुँदै के हामी एक हौला त । कल्पना र यथार्थमा धेरै भिन्नता हुन्छ सदैव । त्यसैले मैले उनलाई गरेको प्रेम पनि जायज छ । मेरो कल्पनाको सीमाभित्र मेरै अनुरूप उनी प्रस्तुत हुन्छिन् । चाहे त्यो खराब लत  होस् या खाराबझैं देखिने म ।

    सब कुरामा मेरै अधीन चल्छ । मौन भइ उनलाई हानी न गरी उनको सौन्दर्यको रसपान गर्नु के मेरो अजीव मानसिकतालाई दर्साउछ त ? के मेरो प्रेम जायज छ त ? 

  • सम्बन्धित विषय:

  • # साहित्य
  • # कथा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij