गजल– १
र आमालाई मुस्कुराउने अवसर आएको छ ।
आज हराएको छोरो फर्केर घर आएको छ ।
ईश्वर तँ तेरैमात्र नै जयजयकार चाहान्थिस्
हेर! सुदुरमा शक्तिशाली मोटर आएको छ ।
मृत्यु छेवै उभिँदा कति पनि अत्यास लागेन
तिम्रो बिहेको खबर लिएर हो डर आएको छ ।
नचाहाँदा नचाहँदै बालाई क्यान्सरले लग्यो
ममा हो मनभित्रै प्रेम रोगको रहर आएको छ ।
शत्रु! मेरो प्रगतिले तँ जल्नुपर्छ भनेको थिएँ
आगलागीमा उ मरेको खबर भर्खर आएको छ ।
गजल– २
दुइमुटु एक हुने रहर त्यो बिन्दुसम्म पुगेर सकियो
तिमिभित्र म बसेझैं जब धागो फुलभित्र छोपियो ।
बिन्ती छ ! बोटमा चोट पर्दैमा फूल नफुल्ला नभन्नु
बा बितेपछि आमा सेतै फुल्नुभएको पनि देखियो ।
र बदलामा मलाई पनि तिम्रो मन नजलाऊँ लागेन
रोइदिएँ ! मसँग प्रज्ज्वनशील पदार्थ आँसुमात्र थियो ।
घरको पश्चिम भित्ताले घामको जवानी देख्नै पाएन
बधाई दिउँदिउँ लाग्यो ! ऊ बर्बाद हुनबाट जोगियो ।
गजल– ३
जब परिचय हुनथाल्छ कुनै पराइसँग
पहिलै प्रश्न सम्बन्धित गर्छ कमाइसँग ।
सानोमा खुब खेलाउनुहुन्थ्यो बा मलाई
अचेल एक्लै खेलिरहनुहुन्छ दबाईसँग ।
चोट आफ्नैले दिन्छन भन्ने बुझेपछि
रुख डराइरहेछ एक काटी सलाईसँग ।
पसलमा ऋणमात्र आफन्त हो आमाको
छोरो भने सम्बन्ध जोडिरहन्छ मिठाइसँग ।
परेवा बिस्कुन हेर्दछ, गिद्ध देख्छ सिनो
सोच समान हुदोरैन उडानको उचाईसँग ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology