Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

मिर्गौला प्रत्यारोपणको पर्खाइमा ‘चम्सुरी’

मिर्गौला प्रत्यारोपणको पर्खाइमा ‘चम्सुरी’

  • 382
    SHARES
  • मिर्गौला प्रत्यारोपणको पर्खाइमा ‘चम्सुरी’

    काठमाडौं । शुक्रबार बिहान करिब ११ः३० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा सबै जना आ–आफ्नो धुनमा थिए । अस्पतालमा प्रायः बिरामी, बिरामीका कुरुवा, डाक्टर, नर्सहरुको बाक्लै चहलपहल थियो । तिमध्ये कतिपय व्यक्ति बिरामीका शुभचिन्तक थिए । जसले हातमा फलफूल बोकेर आफन्तलाई स्वास्थ्यलाभको कामना दिन हतार–हतार बिरामीको वार्डतर्फ जाँदै थिए । 

    अन्य व्यक्तिझैं म पनि बिरामीको वार्ड खोजिरहेकी थिएँ । कुनै विशेष काम नभई कमै मात्रामा मात्र म अस्पतालमा पाइला टेक्थें । यो पटक पनि काम विशेषले नै अस्पताल गएकी थिएँ । प्रायः अस्पताल नजाने भएकाले कुन भवनमा के छ ? के रोगको उपचार कता हुन्छ ? भनेर ठ्याक्कै हेक्का नै हुँदैन मलाई । त्यसैले अस्पतालभित्र प्रवेश गरेपश्चात म सरासर सोधपुछ कक्षमा गएँ । सोधपुछ कक्षमा एकजना दाइ बसेका थिए । उनलाई देखेर सोधिहालें, ‘दाई नेफ्रो वार्ड कतातिर छ ?’ मेरो प्रश्नको उत्तर दिँदै उनले भने, ‘तेस्रो तलामा’ । 

    सोधपुछ कक्षको दाइले तेस्रो तलामा नेफ्रो वार्ड छ भनेपछि म त्यतैतिर लागें । अस्पतालको सिँढी चढ्दै गर्दा अगाडिबाट तीन जना पुरुष एकअर्कासँग गफिँदै आउँदै थिए । तीमध्ये एउटाले आफ्नो सहकर्मीलाई सिँढीको भुइँतिर संकेत गर्र्दै भने, ‘यो सिँढी कस्तो बालियो छ है ?’ उनको प्रश्नमा उनका सहकर्मीले सहमति जनाउँदै भने, ‘अँ, है कसरी बनाएको रहेछ ? फेरी कुनै पिल्लर पनि छैन । तर कस्तो राम्रोसँग बनाएको ।’ यस्तै–यस्तै बोल्दै छेउबाटै गए । मलाई चाँही उहाँहरुको ध्यान सिँढीको बनावटले निकै तानेछ लाग्यो ।

    पहिलो तला पार गरेर दोस्रो सिँढी हिडेर बिचमा पुगेकी थिएँ, एउटा चिने, देखेको अनुहारले मलाई उछिनेर अगाडि बढ्यो । को हुन् यी महिला ? कतै देखेको जस्तो अनुहार छ ? मष्तिष्कमा धेरै दवाब दिएपछि बल्ल याद आयो । मलाई सिँढीमा उछिनेर अगाडि बढ्ने महिला अरु कोही नभएर सामाजिक अभियानकर्ताका नामले चिनिएकी ज्वाला संग्रौला थिइन् । अभियन्ता संग्रौला किन आएकी होलिन् भनेर सोच्दै थिएँ । सोच्दा–सोच्दै थाहा पाएँ, उनको र मेरो गन्तव्य त एकै वार्ड पो रहेछ । ‘वार्ड नं ३०६’ को ढोका खोल्दै उनी भित्र पसिन् । म पनि उनीसँगै भित्र गएँ । वार्डभित्र बेडमा थिइन्, पल्पसा डंगोल उर्फ ‘चम्सुरी’ । ‘चम्सुरी’को छेउमा थिइन् कलाकार दीपा श्री निरौला । दुवै जनालार्ई हात जोडेर अभिवादन गरेँ ।

    ‘मेरी बास्सै’ नामक हाँस्यटेलिशृंखलामा ‘चम्सुरी’को नामले चिनिएकी पल्पसा एकदमै फरक अवस्थामा थिइन् । दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत ‘चम्सुरी’ले आँखाका परेला तल–माथि गरेर इसारा गर्थिन् । मैले नमस्कार गर्दा उनले त्यसैगरी फर्काइन् । मनमा चिसो महशुस भयो । एकछिन आफ्नो बाल्यकाल सम्झिएँ । सानो बेला ‘मेरी बास्सै’ टेलिभिजनमा आउने दिन चाँडै गृहकार्य सक्काएर बसेकी हुन्थें । मेरो मानसपटलमा धेरै कुरा खेले र सोचें, ‘मेरी बास्सै’ हेर्न म कति उत्सुक हुन्थें ।’ तर आज त्यही ‘मेरी बास्सै’मा चम्सुरीको भुमिका निर्वाह गर्ने पल्पसा डंगोलालाई यस्तो अवस्थामा देख्नु पर्यो ।

    दर्शकलाई पर्दामार्फत सधैं हाँस्न र खुसी रहन प्रेरित गर्ने ‘चम्सुरी’ मिर्गौला समस्याका कारणले अस्पतालको बेडमा थला परेकी छिन् । अनिन्द्राले आँखा वरिपरि कालो दाग बसेको छ । मिर्गौलापीडितले खानपानमा धेरै ध्यान पुर्याउनु पर्ने भएकाले शरीर नि कमजोर भएको छ । दाँया र बाँया हातको कुइनो छेउमा सुइ लगाएकाे खतहरू प्रष्टै देखिन्छन् । उनकै छेउमा रहेकी दीपा श्रीले चाँडै निको हुने ढाडस दिँदै थिइन् ।

    ‘हाम्रा पूर्वप्रधानमन्त्रीले पनि मिर्गौला प्रत्यारोपण गरेर अहिले धेरै स्वस्थ हुनुहुन्छ । तपाईंलाई पनि चाडैं निको हुन्छ पीर नगर्नु,’ अभियान्ता संग्रौलाले चम्सुरीलाई आफ्नो परिचय दिँदै स्वास्थ्यलाभको कामना दिइन् । संगौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै भनिन्, ‘आर्थिक केही सहयोग गर्नुपरे मलगायत नेपाली दाजुभाइ तथा दिदीहरू तयार छौं,’ उनले भनिन् । संगौलाको भनाइमाथि ‘चम्सुरी’ले आँखाको भावले धन्यवाद प्रकट गरिन् । उनको बिहीबार राति पाँचौ पटक मिर्गौला डायलयसिस गराइएको थियो । जसकारण ‘चम्सुरी’ले बोल्नमा धेरै बल गरिनन् । 

    ‘चम्सुरी’लाई भेट्न उनका शुभचिन्तकहरुको घुइँचो थियो । जसकारण नर्स र कलाकार दीपा श्रीले भिडभाड नगर्न आग्रह गरिरहेका थिए । ‘उसलाई रोगबारे पाँच वर्ष अगाडि थाहा रहेछ । हामीलाई कहिल्यै भनिन । उसलाई औषधि खाएर नै निको पार्छु भन्ने आत्मविश्वास रहेछ,’ दीपा श्रीले ‘चम्सुरी’को स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भनिन्, ‘तर मिर्गौलाको समस्या औषधिको भरमा मात्र निको हुँदैन । मिर्गौला नै प्रत्यारोपण गर्नुपर्छ । परिवारभित्रकै तीनजना दाताले दिन्छु भन्नु भा’छ, अब उसलाई चाँडै निको हुन्छ । फेरि दर्शकलाई उसैगरि मनोरञ्जन दिन्छिन् ।’

    उनको भनाइले चम्सुरीको हौसला बढाइरहेको भान हुन्थ्यो । दुई महिनायता पल्पसालाई मिर्गौलाकाे समस्याले गाह्रो बनायो । उनलाई सास फेर्न गाह्रो हुने, खानामा अरुचि, वान्ता भइरहने भएपछि  अस्पताल ल्याइएको दीपा श्रीले जानकारी दिइन् । ११ दिनदेखि अस्पतालमा भर्ना भएकी पल्पसाको अहिलेसम्म पाँचपटक डायलसिस भएको छ । यसअघि ११ दिन अस्पताल बसेर घर फर्केकी थिइन् पल्पसा । घर बसेको दुई दिनमै उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल फर्काइएको दीपा श्री बताउँछिन् । पल्पसाको अवस्थाबारे खबर बाहिरिएसँगै धेरै जनाले उनको लागि आर्थिक सहयोगको लागि आग्रह गरे । पल्पसालाई आर्थिक सहयोगबारे विभिन्न सञ्चार माध्यममा नराम्रो तरिकाले प्रचार हुन थालेपछि उनले आफ्नो लागि आर्थिक रकम नउठाउन आग्रहसमेत गरिन् ।

    ‘प्रत्यारोपणका लागि तीनै जना दाताको स्वास्थ्य परीक्षण हुँदैछ,’ पल्पसाकी साथी विद्या बज्राचार्यले भनिन्, ‘तीन जनामध्ये एकले मिर्गौला दान गर्न मिलेपछि चाँडै नै प्रत्यारोपण हुनेछ । अस्पतालले पल्पसालाई प्राथमिकतामा राखेको छ । मिर्गौला प्रत्यारोपण गर्न मिल्ने बित्तिकै उसको गरिने छ । ४५ वर्षीया पल्पसा दुई छोरीकी आमा हुन् । उनले ‘प्रतिद्वन्द्वी’, ‘भरोसा’, ‘मेरी बास्सै’लगायतका टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology