प्रकाश थापा
दक्षिण एसियाका राष्ट्रहरू भारत, बङ्लादेश, पाकिस्तानमा राजनीतिक दल र सरकारको बागडोर महिला नेताहरूले सम्हालेको निकै पुरानो इतिहास छ । नेपालमा भने अहिले सम्म महिलाले राजनीतिक दल र सरकारको नेतृत्व गर्ने अवसर पाएका छैनन् ।
लोकतान्त्रिक गणतन्त्र भएको मुलुक नेपालमा पार्टी र सरकारको नेतृत्व गर्नबाट महिला किन बञ्चित भए भन्ने प्रश्न गम्भीर रुपमा उठ्न जरुरी छ । महिलाले नेतृत्व नपाउनुको कारण राजनीतिक योग्यताको कमीले हो ? शिक्षाको कमीले हो ? पारिवारिक समस्याले हो ? विशिष्ट राजनीतिक विरासतको नभएर हो ? वा पुरुष प्रधान देश भएकाले हो ? सम्भवतः अहिलेको अवस्थामा यो कुनै पनि कारण हैनन् ।
२१औँ शताब्दीमा नेपाली महिलाहरू कुनै कुरामा कमजोर छैनन् । इतिहासमा हाम्रो समाज पुरुष प्रधान रहे पनि अब त्यो अवस्था छैन् । महिला अब आत्मनिर्भर, स्वतन्त्र, राजनीतिक चेतनायुक्त र शिक्षित भइसकेका छन् । अब महिलाले चुलाचौकामा थन्किने नभएर समाजलाई डोर्याएर अघि बढाउने अभियानमा लाग्नु जरुरी भइसकेको छ । लोकतान्त्रिक गणतन्त्र भएको मुलुकको पार्टीहरू र सरकारमा नेतृत्व गर्ने अवसर महिलाहरूले सृजना गर्नुपर्छ ।
नेपालमा पार्टी नेतृत्वको अवसर महिलाले पाउने सुनौलो अवसर अहिले देखिएको छ । अब कुरा गरौँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको । एमाले नेतासमेत रहनु भएको भण्डारीको हालैको राजनीतिक सक्रियताले एउटा आशा जगाएको छ ।
भण्डारीको अन्तराष्ट्रिय तथा राष्ट्रिय भ्रमणले राजनीतिक सरगर्मी बढाएको छ । उहाँ विगतमा नेकपा एमालेको अभिन्न हिस्सा हुनुहुन्थ्यो । तर राष्ट्रपति बनेपछि सात वर्षभन्दा बढी पार्टी राजनीतिबाट टाढा बस्नु पर्ने अवस्था आयो । राष्ट्रपतिको कार्यकाल सकिएपछि उहाँलाई सक्रिय राजनीतिमा फर्कन नेता कार्यकर्ताबाट अनुरोध हुन थालेको छ ।
उहाँको राजनीतिक कर्म थलो नेपालको पूर्वी भाग हो । त्यसै अनुरूप मोरङ जिल्लाको नेकपा एमालेको जिल्ला अधिवेशनलाई नजिकबाट नियाल्दा मोरङको जिल्ला पार्टी नेतृत्व सहजै उलट पलट भयो । समन्वयकारी भूमिकाको लागि नेता कार्यकर्ताले सर्वत्र विद्या भण्डारीको आवश्यकता महसुस गरेका छन् ।
विद्या भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउँदा पार्टी र नेपाली जनतालाई घाटा हुन्छ ? दुई पटक सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल सम्पन्न गरेर अनुभव बटुल्नु भएकी परिपक्व महिला नेत्रीले पार्टी र देशको लागि काम गर्छु भन्दा किन रोकटोक गर्नु पर्यो ? उहाँले स्वेच्छाले राजनीति गर्न पाउनुपर्छ । कसैले पनि उहाँलाई प्रतिस्पर्धी नठान्दा बेस होला । एउटा शसक्त जिबित पार्टी भित्र विचार समूह बन्नु अपराध होइन भनेर बुझेको छु मैले । आन्तरिक लोकतान्त्रिक बिधिमार्फत अफ्नो नेतृत्व आफैले छान्न पाउनु पर्छ ।
त्यसकारण नेकपा एमालेले एक पटक विद्या भण्डारीलाई पार्टी नेतृत्वमा पुर्याएर विश्वसामु कम्युनिस्ट पार्टीको नेतृत्व महिलाहरूले पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । यसले विश्वसमु नेकपा एमाले अत्यन्त लोकतान्त्रिक पार्टी भएको परिचय पनि स्थापित हुन्छ ।
पार्टीको दस्तावेजका शब्दमा मात्र होइन, ब्यबहारिक र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सिक्नु पनि पर्छ । नेकपा एमालेले आफ्नो नवौँ माहाधिवेशन सम्म लाेकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै आएको होइन र ? यो इतिहास बिर्सनु हुन्न । त्यसबेला पार्टी कति मजबुत, शसक्त र गर्व गर्न लायक थियो । गाउँ तहका आधारभुत कमिटिका बैठकहरु नियमित हुन्थे ।
अब विद्या भण्डारीको राजनीतिमा सक्रियताले सांगठनिक इतिहास निर्माण गरेका थुप्रै नेता कार्यकर्ताको पनि संगठ्नात्मक ब्यबस्थापन हुन्थ्योकी ? देश एकचोटी बामपन्थिमय बन्थ्योकी ? आखिर विद्या भण्डारीको व्यक्तिगत स्वार्थ के नै छ र ? दुई पटक राष्ट्रप्रमुख भइसक्नु भयो । एक पटक नेकपा एमालेको नेतृत्वको जिम्मा दिने हो भने पार्टीको विधान बुझेको, देशको संविधान बुझेको परिपक्व र स्वार्थरहित नेता पाउँदा नेपालमा भ्रष्टचार पनि निर्मूल हुन्थ्योकी ? के राष्ट्र निर्माणको स्वर्णिम सपना उहाँसँग छैन होला र ? जबजको माया उहाँलाई पनि होला नि !
पार्टीमा इतिहास निर्माण गरेका प्रदीप नेपालले प्राण त्याग्नु अघि बोलेका कुराहरुको मनन गरौँ त एक पटक । ‘मैले निर्माण गरेको पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाउन सकिनँ, मलाई पार्टीको झण्डा नओढाउनु’ भन्ने अभिव्यक्ति नेपालले किन दिनुभयो ? कस्तो नेतृत्व प्रवृत्तिका कारण उहाँको मन भाच्च्यिो, सोच्नु पर्दैन ? कि पार्टी संधै यस्तै हो ? अब सुध्रन सकिन्न ? यदि सुध्रिने हो भने समय आयो ।
सबैभन्दा पहिला विचार गर्नुपर्ने पक्ष हो बैचारिक नेतृत्वको खाडल भर्न नसक्नु । नेकपा एमाले भित्र सैयौँ नेता कार्यकर्ताहरु विचार र दृष्टिकोणको हिसाबले संसार सामु बहस गर्न सक्ने हुनुहुन्छ । तर के संसदीय फाँट बाहेक कम्युनिस्टमा अन्यकुनै ठाउँ नै छैन त ? पार्टी भित्र जगेडामा राखिएका नेताहरुको काम के त ? आधारभुत तहमा गएर संगठन बिस्तार र स्कुलिङ चलाउनु पर्दैन ? सँधैभरी सिंहदरवारको वरिपरी नेताहरुको घुइँचो देखिन्छ । संठनको काम केही नगर्ने नितान्त माथिल्लो नेतृत्वलाई कुरो लगाएर जीवन चलाउने ? यस्ता प्रवृत्तिले पार्टीलाई ‘डेन्जर जोन’मा उभ्याएको छ । पार्टी नेतृत्वले बेलैमा यस्ता बैचारिक रोगको निदान गर्न नसकेमा नेतृत्व प्रति प्रश्नै प्रश्नको चाङ लाग्नेछ । त्यति बेलासम्म सम्हालिन ढिलो होला, बेलैमा बुद्धि पुगोस ।
एमाले भित्र घातक र गम्भीर समस्या भनेको केही थान ख्रुस्चेभ पन्थीहरू उदय र हावी हुनु हो । तत्कालीन सोभियत संघको कम्युनिस्ट पार्टीमा स्टालिनले नेतृत्व गरिरहेको बेला ख्रुश्चेभले संविधानको नाम स्टालिनवादी संविधान र पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र स्टालिनवाद राख्नुपर्ने धरणा अघि सारे । स्टालिनले त्यो प्रस्तावलाई तत्कालै अस्विकार गर्नु भयो । तर सन १९५३ मार्च ५ मा जब स्टालिनको मृत्यु भयो, तब तिनै ख्रुश्चेभले स्टालिनलाई जघन्य अपराधी, तानाशाह भनेर निन्दा गरे ।
हालको एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकामा क्रमशः क्षय भएको देखा परिरहेको छ । कारण, पार्टीभित्र वैचारिक स्पष्टता भन्दा बढी व्यक्तिवादले ठाउँ लिएको छ । गुट छैन भन्ने तर भित्रभित्रै आफ्ना खाले गुटको इशारामा पार्टीका विभिन्न निर्णय हुने । बिगतको स्थनीय, प्रदेश र संघीय निर्वाचनको टिकट वितरणले यो कुरा छ्याङ्ग बनाउँछ ।
यस्तो परिस्थितिमा राष्ट्रपतिको भूमिकाबाट फर्किनु भएकी अनुभवी र समन्वयकारी भूमिकाका कारण विद्यादेवी भण्डारी स्थापित हुनसक्नु हुन्छ । उहाँले अझै केही वर्ष राजनीतिमा समय दिएर एमालेलाई बलियो बनाउनु पर्छ ।
भण्डारीको अर्को महत्वपूर्ण योगदान हो—महिला नेतृत्वको नयाँ ढाँचा प्रस्तुत गर्नु । विगतमा उहाँ अखिल नेपाल महिला संघ हुँदै ट्रेड युनियन आन्दोलनसम्म सक्रिय हुनुहुन्थ्यो । जुन पृष्ठभूमिबाट आउनु भयो त्यसका आधारमा सामाजिक आन्दोलनको गहिरो अनुभूति उहाँमा छ । नेपालको राजनीतिक वृत्तमा महिला नेतृहरूको उपस्थिति सांकेतिकभन्दा बढी प्रतिकात्मक हुने गरेको छ । तर भण्डारी भने राष्ट्रको पहिलो महिला राष्ट्रपतिको भूमिकामा रहेर त्यो परम्परा तोड्न सफल हुनुभयो । अब पार्टी राजनीतिमा पुनः सक्रिय हुँदै गर्दा उहाँले महिला नेतृत्वलाई केवल उपस्थितिका लागि मात्र होइन, प्रभावको धरातलमा उभ्याउने सम्भावना बोकेको देखिन्छ ।
राष्ट्रपतिको रुपमा काम गर्दा उहाँले संवैधानिक संरचना, कार्यपालिका, न्यायपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय सरकारजस्ता विषयहरू नजिकबाट बुझ्नु भएको छ । पार्टी अहिले संघीयता, न्यायिक सुधार र स्थानीय सरकारसँगको सम्बन्धको पुनःसंरचनाको बहसमा अल्झिरहेको छ । यी विषयमा भण्डारीको अनुभव र दृष्टिकोणले एउटा दिसानिर्देश गर्न सघाउ पुग्छ ।
विदेश नीति र कूटनीतिक तहमा समेत उहाँले स्थापित गरेको सम्बन्ध सञ्जाल नेकपा एमालेको लागि उपयोगी बन्न सक्छ । राष्ट्रपतिको हैसियतमा उहाँले छिमेकी मुलुक र अन्य देशका उच्च तहका प्रतिनिधिसँग सम्बन्ध विस्तार गरेको पाइन्छ । अहिले भर्खर सम्पन्न उहाँको चीन भ्रमण निकै सफल र भव्य भयो ।
संगठनात्मक हिसाबले हेर्दा पनि भण्डारीको भूमिकाले एमालेलाई केही नयाँ ताजगी दिन सक्छ । उहाँ आफ्नो अनुशासित, समावेशी र सन्तुलनकारी शैलीका लागि चिनिनु ह्न्छ । पार्टी अहिले आन्तरिक गुटबन्दी, निर्णय प्रक्रियाको अपारदर्शिता र नीति निर्माणमा विचारको सट्टा गुटीय प्राथमिकताबाट गुज्रिरहेको छ । जस्का कारण पार्टीले 'स्पीड' लिन नसकेको तितो सत्य हामीले स्वीकार्नै पर्छ ।
भण्डारीको पुनःसक्रियताले समाजिक कल्याण र श्रमिक मुद्दाहरूमा पनि पार्टीको एजेन्डा परिमार्जन गर्न सक्छ । उहाँको श्रमिक र सहकारी आन्दोलनसँगको गहिरो सम्बन्ध भएका कारण सामाजिक सुरक्षा, श्रमिकको हक, वृद्ध भत्ता, केयर इकोनोमी जस्ता योजनाले पार्टीको घोषणापत्रमा सामाजिक लोकतन्त्रको आत्मालाई पुनर्जीवित गर्ने सम्भावना राख्दछ ।
भण्डारीको उपस्थितिले एमालेमा एक प्रकारको सन्तुलन सिर्जना गर्न सक्नेछ । वर्तमानमा एमाले व्यक्तिवादी प्रवृत्ति र आन्तरिक द्वन्द्वबीच जुधिरहेको छ । तत्कालै ओठे जवाफ नदिने शालिन स्वभावकी भण्डारीजस्तो नेताको उपस्थितिले एकातर्फ सहानुभूतिपूर्ण छवि प्रस्तुत गर्छ भने अर्कोतर्फ विचारशील नेतृत्वको आवश्यकता पनि स्मरण गराउँछ । साथै, राष्ट्रिय राजनीतिमा पनि उहाँको भूमिकाले संविधानको व्याख्या, शक्तिपृथक्किरण र लोकतान्त्रिक मूल्यहरूको सूत्रपात गर्नसक्नेछ ।
त्यसैले, विद्या भण्डारीको पुनरागमन केवल एमालेभित्रको एक नेतृत्व प्रतिस्थापनको विषय मात्रै होइन । यो नेपालको समसामयिक राजनीति, कूटनीति, सामाजिक समावेशिता र राज्यको मूलभूत चरित्रसँग जोडिएको बहुआयामिक सवाल हो । यदि पार्टी र उहाँ आफैँले स्वयं आफ्नो भूमिका गम्भीरतापूर्वक बुझेर अगाडि बढ्न सके, नेकपा एमालेको शसक्त पुनर्जीवन सम्भव हुन्छ । मुलुकको शासन प्रणालीलाई समेत स्थायित्व र विश्वासको दिशातर्फ उन्मुख गराउन सक्छ ।
दक्षिण एशियकै राजनीतिमा यो एउटा नयाँ सकारात्मक प्रयोग पनि हुनेछ । नेपालको राजनीतिमा एउटा नौलो कोशिस हुन्छ । महिला त्यसमाथि दुई पटक राष्ट्रपति भइसकेको अनुभवबाट खारिएको समन्वयकारी नेता पुनः पार्टीको सक्रिय राजनीतिमा फर्केर आउनु दक्षिण एशियाकै राजनीतिमा नयाँ कुरा हुनेछ । उहाँको भूमिकाले पार्टीका हरेक पक्षको सशक्त विचारले स्थान पाउनेछन् । यसले पार्टीलाई अझ शसक्त, उर्जाशील, गतिवान बनाएर अघि बढ्न मद्दत गर्छ ।
त्यसकारण नेकपा एमालेले एक पटक विद्या भण्डारीलाई पार्टी नेतृत्वमा पुर्याएर विश्वसामु कम्युनिस्ट पार्टीको नेतृत्व महिलाहरूले पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । यसले विश्वसमु नेकपा एमाले अत्यन्त लोकतान्त्रिक पार्टी भएको परिचय पनि स्थापित हुन्छ ।
विद्यादेवी भण्डारीको सक्रियताले एमालेमा संगठनात्मक सन्तुलन, लचिलोपन, सुदृढिकरण जस्ता चमत्कारीक सकारात्मक परिवर्तन देखिनेछन । यी कुराले पार्टीलाई मात्र नभई समग्र देशलाई फाइदा पुग्नेछ । सामाजिक न्याय, राजनीतिक स्थायीत्व, अन्तराष्ट्रिय सम्वन्धका लागि पनि यो फलदायी हुनेछ । त्यसकारण नेपालको राष्ट्रिय राजनीतिमा भण्डारीको सक्रिय सहभागीता अपरिहार्य छ ।
पूर्व राष्ट्रपति भएकाले उहाँलाई राजनीतिमा आउनु हुँदैन भन्ने एउटा मान्यता छ । तर नेपालमा बृहत् कम्युनिस्ट एकता गराएर त्यस्को नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने भएकाले उहाँले दुविधामा नपरी राजनीतिमा आउनु पर्छ । आफ्ना पार्टीका कार्यकर्ताको माया र अन्तराष्ट्रिय साथ र सहयोगले उहाँलाई बृहत नेपाली जनताको नेता बन्न कसैले रोक्न नसक्ने परिस्थिति बन्दैछ ।
(लेखक नेकपा एमालेका सर्लाही जिल्ला कमिटीका पूर्व उपसचिव हुन् । याे सामग्री लेखकका निजी विचार हुन् ।)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij