वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आफूले लेखक खगेन्द्र संग्रौलालाई नधम्क्याएको जवाफ दिएका छन् । महेश बस्नेतबाट आफूलाई धम्की आएको भनेर संग्रौलाले गफ लगाएको उनले बताएका छन् ।
‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ । राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन,’ बस्नेतले संग्रौलालाई जवाफस्वरुप भनेका छन्, ‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवस्यक नै छ ।’
युवा संघका पूर्वअध्यक्षसमेत रहका बस्नेतले संघकै विभागका रुपमा रहेको युथ फोर्सको बचाउ गर्दै फेसबुकमा लेखेका छन्, ‘युथ फोर्सले जाई कटक नगर्नु झिकी कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ । वाधा अडचन आइपरे मात्र हटाउनेछ । एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन अनवश्यक छैन । युथ फोर्सको गठनले असाहाय, पीडित, गरिब, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ । बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला ।’
बस्नेतले आफूलाई धम्क्याएको भन्दै संग्रौलाले ट्वीटरमा, ‘राजा ज्ञानेन्द्रको शासनकालमा पनि आफू जनताको पक्षमा सडकमा निस्किएकाले अहिले गणतन्त्रमा केही व्यक्तिले धम्की दिँदैमा आफू नडराउने,’ उल्लेख गरेका छन् । बस्नेतले भने आफूले लेखक संग्रौलालाई कुनै प्रकारको गाली र धम्की नदिएको भन्दै संग्रौलाको ट्वीटको खण्डन गरेका छन् ।
‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्,’ बस्नेतले संग्रौलामाथि कटाक्ष गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij