वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना भाइरस संक्रमित हुनेको संख्या फेरि घटेको छ ।
लकडाउन खुकुलो बनाएपछि भारतमा दैनिक संक्रमित घटबढ हुने क्रम जारी छ । तर, पछिल्लो २४ घण्टामा भने २९ हजार ६८९ जनामा मात्र संक्रमण पुष्टि भयो ।
यही अवधिमा ४२ हजार ३६३ जना संक्रमित निको भएका छन् । निको हुने दर बढी भएसँगै अहिले भारतमा सक्रिय संक्रमितको संख्या चार लाखभन्दा तल झरेको छ । हाल तीन लाख ९८ हजार एक सय जना सक्रिय संक्रमित रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी यो अवधिमा ४१५ जनाको संक्रमणकै कारण निधन भएको छ । अहिले दैनिक थपिने संक्रमित र मृत्यु दर विस्तारै कम हुँदै गएको हो । कोरोनाको दोस्रो लहरबाट अध्यधिक प्रभावित भएको भारतमा अहिले अवस्था सामान्य हुँदै गएको छ ।
भारतले अहिले खोप अभियानलाई पनि तीव्र बनाएको छ । अहिलेसम्म ४४ करोडलाई खोप लगाइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij