वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौँ भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा खुसी हुन्थें । अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरूप्रति । उहाँहरूले नेपालमा ठूलो योगदान गर्नुभएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ ।’
पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बदल्नुपर्ने उनको भनाइ छ । ‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ,’ थापाले भने, ‘म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै । म अहिले ५० वर्ष हुन लाग्दा समेत उहाँहरु नै । लोकतन्त्रमा यस्तो हुँदैन । पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ । यो नबदले सम्म हुँदैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij