वेबटिभी खबर
काठमाडौं । हिमपात र चिसो बढेपछि मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकहरूको लागि सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षण सेवा र औषधी वितरण गरेको छ । बुधबार बिहानदेखि त्यस क्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधी वितरण गरिएको हो ।
सशस्त्र प्रहरीको नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ ।
त्यस क्षेत्रमा हिमपात भएको र अचानक चिसो बढेका कारण धेरै पर्यटकहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
त्यसैगरी हिमपात भएपछि हिजैदेखि हिउँ पन्साउने अभियानमा लागेको सशस्त्र प्रहरीले बुधबार बिहानदेखि मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरमा हिउँ हटाइरहेको छ । सशस्त्र प्रहरीले बाटोको हिउँ पन्छाएपछि दर्शनार्थीलाई मन्दिर पुग्न सहज भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij