हरि अधिकारी
अखबारका पानाबाट भागेर आएको छ
थाहै नदिई सुटुक्क मरेर गएको मान्छे,
ऊ अखबार हरफहरूबाट जुरुक्क उठ्छ, र
बेमानसँग बाँचिरहेको अर्को मान्छेको कानमा
चिसो साउती गर्छ,
घरको जस्केलामाथि झुन्डिएको छ
अखबारबाट बाहिर निस्किएको त्यही मान्छेको आकृति
उसको ओठमा फैलिएको छ–
अन्तिम भोजको तीखो र दुर्गन्धमय स्वाद;
समवेदनाका शब्दहरूमा पुरानो वेस्टकोटझैं
झुन्डिनबाट आफूलाई बचाउँदै र
माखेसाङ्लोझैं बेरिएका बाटाहरूको जन्जालमा
हराउँदै–भेटिँदै, हराउँदै–भेटिँदै
हिँडिरहेको देखिन्छ अर्को एउटा मान्छे,
आफूलाई बलियोसँग कसेर आफ्नै अँगालोमा
सुरक्षित निदाइरहेको तेस्रो मान्छेलाई
चिसो प्रेमेको कठोर र भयप्रद भाषामा बोलाउँदै
अखबारका पानाबाट भागेर आएको त्यही मान्छे
अलि पर, अँध्यारोमा उभिएर
खित्खित् खित्खित् हाँसिरहेछ ।
गरिमा, अङ्क १२ मङ्सिर ०६८ बाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij