Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पर्यटन व्यावसायी भन्छन्- खोप लगाएकालाई नेपाल प्रवेश सहज बनाऔं

पर्यटन व्यावसायी भन्छन्- खोप लगाएकालाई नेपाल प्रवेश सहज बनाऔं

  • 535
    SHARES
  • पर्यटन व्यावसायी भन्छन्- खोप लगाएकालाई नेपाल प्रवेश सहज बनाऔं

    काठमाडौं । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सबैभन्दा बढी प्रभावित क्षेत्र हो- होटल र पर्यटन । सरकारले कोरोना दर घटेका बेला अन्य व्यावसाय आंशिक खुला गरे पनि यो क्षेत्र अघिल्लो वर्षकै निषेधाज्ञादेखि पूर्ण रूपमा बन्द छ । गत वर्षको भदौदेखि केही महिना होटल र पर्यटन क्षेत्र पुनः सञ्चालनमा आए पनि क्यासिनो भने पूर्ण बन्द छ । होटल र पर्यटन क्षेत्र वैशाख १६ देखि जारी निषेधाज्ञा पछि फेरि प्रभावित भयो ।

    images

    कोरोनाको पहिलो र दोस्रो चरणको दुष्प्रभाव झेलेको पर्यटन क्षेत्र अहिले फेरि भारत, युरोपेली मुलुक, अमेरिका र चीनजस्ता देशमा संक्रमणको तेस्रो भेरियन्ट देखिन थालेपछि त्यसको असरले थला पर्ने अवस्थामा पुगेको छ । स्वास्थ्य विज्ञहरूले नेपालमा पनि तेस्रो लहर आउनसक्ने सम्भावना रहेको बताइरहेका छन् ।

    नेपालमा केही दिनयता पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयले तेस्रो भेरियन्टको नियन्त्रणका लागि कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदल (सीसीएमसी) लाई स्मार्ट लकडाउनको सिफारिस गर्ने बताएको छ । यसको प्रत्यक्ष असर होटल र पर्यटन क्षेत्रमा देखिएको छ ।

    ‘कोरोना संक्रमणबाट यो क्षेत्रमा धेरै असर पुर्याएको छ । धेरै व्यावसायीहरू यो व्यावसायबाट पलायन भइसक्नु भएको छ,’ होटल व्यावसायी एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले भने, ‘सरकारले होटल व्यावसायीलाई अहिलेसम्म कुनै पनि राहत प्याकेज घोषणा नगर्दा यो क्षेत्रका व्यावसायी करोडौं ऋणको मारमा परेका छन् ।’

    सरकारले यही जेठमा नेपाल आउन चाहने पर्यटक वा यात्रुले पछिल्लो ७२ घण्टाको फोटो तथा बारकोडसहितको पीसीआर रिपोर्टमा कोभिड-१९ नेगेटिभ भएको र क्वारेन्टिनका लागि १० दिनको होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्ने नियम जारी गरेको थियो । नेपाल आएपछि १० दिन होटलमा आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकिएको थियो । तर अहिले खोप लगाएको रिपोर्ट भए नेपाल आउन पाइन्छ ।

    ‘सरकारी स्तरबाट यस्तो व्यवस्था भए पनि नेपाल आउनका लागि सरकारले आवश्यक समन्वय गरेको छैन,’ शाहले भने, ‘होटलहरूलाई निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्छ । होटल र पर्यटन क्षेत्रलाई खुला गरिनुपर्छ । सरकारसँग हाम्रो यही माग छ ।’ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका नाममा होटल र पर्यटन व्यावसायीहरूलाई अत्यन्तै कडाइ गरेको शाहको गुनासो छ ।  

    खोप लगाएका पर्यटकलाई बिना रोकतोक नेपाल आउन दिनुपर्ने बताउँछन् नेपाल एसोसिएसन अफ टुर्स तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईं । सरकारले खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाएका पर्यटकलाई खोप लगाएका गाइडले घुमाउन पाउने व्यास्था गर्नुपर्ने गुरागाईंको भनाइ छ ।

    ‘कोरोना संक्रमणका कारण देखाउँदै होटल, पर्यटन र ट्राभल्स क्षेत्रलाई सरकारले निस्क्रिय बनाइराख्न उचित होइन । कोरोना संक्रमणको भय कायमै छ, तर यस्तै अवस्थामा पनि यो क्षेत्रलाई कसरी चलायमान बनाउने र व्यावसायीलाई पेशाबाट पलायन हुन नदिने भन्ने तर्फ सरकार गम्भीर बन्न जरुरी छ,’ उनले भने, ‘विदेशतिर अहिले भी टु भी (भ्याक्सीन टु भ्याक्सीन) मापदण्ड लागु गरी यो क्षेत्रलाई चलायमान बनाउ सुरु गरिएको छ । त्यो भनेको खोप लगाएकालाई खोप लगाएकाले सेवा दिने पाउने व्यवस्था हो ।’

    सरकारले अहिले कायमै राखेको १० दिनसम्म क्वारेन्टिनमै बस्नुपर्ने मापदण्डलाई खुकुलो बनाउनुपर्ने पनि उनको भनाइ छ । खोप लगाएका नेपालीले पर्यटन, भ्रमण वा रोजगारीका लागि भारत, चीन, खाडी मुलुक, युरोप, अमेरिकालगायतका सबै देशमा जान पाउने तर तिनै देशबाट नेपाल फर्कने नेपाली, विदेशी पर्यटक र कामदारलाई कडाइ गरिने मापदण्ड अवैज्ञानिक र एकपक्षीय भएको गुरागाईंले बताए । सीमा जोडिएको भारततर्फ खोप लगायक नेपाली जान पाए पनि भारतीय पर्यटकलाई भने प्रवेशमा कडाई गरिएको छ ।

    नेपालमा उल्लेख्य संख्यामा भारतीय पर्यटक आउने भएकाले खोप लगाएकालाई स्थल मार्गबाट पनि प्रवेश खुला गरिनुपर्ने व्यावसायीको माग छ । खोप लगाएकालाई आउजाउ गर्न रोक लगाउनु वैज्ञानिक नभएको उनीहरुको तर्क छ ।  ‘जसरी खोप लगाएका नेपाली दाजुभाइ विदेश गइराख्नु भएको छ, त्यसरी नै विदेशबाट पनि पर्यटक वा अन्य कामका लागि आउन इच्छुकहरूलाई नेपाल आउन दिइनु पर्छ । मापदण्डका नाममा अनावश्यक झमेला दिइनु हुँदैन,’ उनले भने ।

    मुख्य आयआर्जनको क्षेत्र नै समस्यामा

    नेपालमा कृषि र जलविद्युतपछि सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो पर्यटन । तर २ वर्षदेखि जारी निषेधाज्ञाका कारण पर्यटन क्षेत्र ‘हल न चल’को अवस्थामा रहँदा यसबाट सरकारी ढुकुटीमा जम्मा हुने राजश्वमा त कमी आएको छ नै यो क्षेत्रमा लगानी गरेका व्यावसायीहरू चरम आर्थिक संकटमा परेका छन् । 

    सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पर्यटक बढ्ने अपेक्षामा व्यावसायीले लगानी बृद्धि गरेका थिए । तर, भ्रमण वर्षको सुरुमै कोरोना महामारी फैलिएर व्यावसायीले ठूलो नोक्सान भोग्नु पर्यो । ‘होटल व्यावसायीहरूले २ वर्षदेखि निषेधाज्ञाको मार खेपिरहेका छन् । सरकारले अहिलेसम्म कुनै प्रकारको सहयोग गर्न सकेको छैन । विद्युत महसुल छुट गर्दिने आश्वासन पाएका थियौं तर कार्यान्वयन हुन सकेको छैन,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले भने ।

    कोरोनाबारे अनियन्त्रित सूचनाले पनि अन्यौल  

    कोरोना संक्रमणसम्बन्धी सुचना अनियन्त्रित रूपले आउँदा पर्यटकहरूमा अन्योल र त्रास सिर्जना भएको छ । यसको रोकथामका लागि पर्यटन बोर्डमार्फत एकिकृत रूपले सुचना सम्प्रेण गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सीसीएमसी, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णय, अस्पताहरूबाट आउने सबै सूचना पर्यटन बोर्डमार्फत एकद्वार प्रणालीबाट आउन जरुरी छ । छरिएर आएका सुचनाले पर्यटकहरूमा भय र त्रास उत्पन्न गरेको नाटाका अध्यक्ष अच्युत गुरागाईंले बताए ।

    प्रधानमन्त्रीको ध्यानाकर्षण 

    कोरोना महामारीका कारण चर्को मारमा परेको पर्यटन व्यवसायीहरुले ‘वान भ्वाइस फर टुरिज्म’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएका छन् । हानकी अध्यक्ष सृजना राणाको नेतृत्वमा पुगेका पर्यटन व्यवसाय सम्वद्ध संस्थाका पदाधिकारीले शनिबार प्रधानमन्त्री देउवालाई २८ बुँदे माग बुझाएका हुन् । व्यवसायीले कोभिड-१९ ले संकटग्रस्त बनेको होटल, क्यासीनो, पर्यटन उद्योगको उथ्थानका लागि ‘पर्यटनका लागि एक स्वर’ नारामा आधारित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन माग राखेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology