एजेन्सी
नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने नालन्दा जिल्लाको एउटा मन्दिरमा लागेको मेलामा आज भीड जुटेको बेला भागदौड हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
शीतला मन्दिरमा श्रद्धालुको भीड लागेको बेला भागदौड भएको थियो । भागदौडमा परेर आठ जना महिलाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । घाइते भएका केही भक्तलाई अस्पताल लगिएको छ ।
भागदौड मच्चिएपछि स्थानीय प्रशासनले मन्दिरमा लागेको मेला बन्द गराएर स्थिति नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।
प्रत्यक्षदर्शीका अनुसार बिहानदेखि नै मन्दिरमा भक्तजनहरूको ठूलो भीड जम्मा भएको थियो । अचानक भागदौड हुँदा उक्त दुर्घटना भएको हो ।
घटना लगत्तै बिहारका मुख्यमन्त्री नितिश कुमारले शीतला मन्दिर दुर्घटनामा शोक व्यक्त गर्दै मृतकका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् । उनले प्रति व्यक्ति जम्मा ६ लाख भारु सहयोगको घोषणा गरे।
स्थानीयहरूले मन्दिरमा धेरै ठूलो भीड भए पनि प्रशासनले भीड नियन्त्रणमा लागि पर्याप्त व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij