Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपालपक्षीय नेताको चेतावनी - भोलि बस्ने बैठकको कानुनी वैधता छैन

नेपालपक्षीय नेताको चेतावनी - भोलि बस्ने बैठकको कानुनी वैधता छैन

  • 571
    SHARES
  • नेपालपक्षीय नेताको चेतावनी - भोलि बस्ने बैठकको कानुनी वैधता छैन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक भोलि (सोमबार) बस्ने भएको छ । यसबारे पार्टी केन्द्रीय कार्यालयले जानकारी गराइसके पनि बैठकमा उपस्थित हुनेबारे वरिष्ठ नेता माधव नेपाल पक्षले असहमति जनाइसकेको छ । तर संस्थापन पक्ष भने नेपाल पक्ष पनि बैठकमा उपस्थित हुन्छ भन्नेमा ढुक्क छ । ‘१० बुँदे सहमति बनेयता हामीले हरेक बैठकमा सबैलाई बोलाउँदै आएका छौं र भोलि बस्ने बैठकमा पनि उहाँ (नेपाल)हरूलाई बोलाइएको छ,’ एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ।

    images

    क्वालिटी बैंक्वेटमा बिहीबार र शुक्रबार चलेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेता नेपालले आफ्नो पक्ष सरकारमा नजाने बताउँदै अध्यक्ष केपी शर्मा ओलीले आइतबार (आज) गर्न लागेको एमाले केन्द्रीय कमिटीको बैठक रोक्नआग्रह गरेका थिए । नेपालको आग्रहमा बैठक रोकिएको संस्थापन पक्षले जनाएको छ ।

    यता नेपाल पक्षले भने भोलि बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको कुनै कानुनी वैधता नै नरहेको दाबी गरेको छ । भोलि बस्ने तय भएको बैठक एकता प्रयासका लागि नभएर आफूहरूलाई पाखा लगाउन खेलिएको खेलका रूपमा विश्लेषण गर्छन् नेपालपक्षीय एक केन्द्रीय सदस्य । ‘बैठक मिल्नका लागि गर्न खोजिएकै होइन । ओलीले आफ्नो गल्ती नसच्याएसम्म हामी उनले राखेका कुनै पनि बैठकमा जाँदैनौं,’ ती सदस्यले वेबटिभी खबरसँग भने, ‘एकपक्षी ढंगले बोलाइएको बैठकको कानुनी वैधता नै छैन ।’

    वरिष्ठ नेता नेपालले एमालेमा आफूलाई पनि अध्यक्षको हैसियत चाहिने अडान राखेपछि १० बुँदे तयार भइसक्दा पनि एमाले एक हुन नसकेको हो । १० बुँदे नबन्दासँग अध्यक्ष केपी ओलीसँग नेपालको रिसाउनुको कारण थियो– हरेक बैठकमा ओलीको एकलौटी निर्णय । ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछिनेपालले ओलीको अर्को ठूलो गल्ती पनि पक्रिहाले । र, नेपालले ओलीलाई ‘प्रतिगमनकारी’को बिल्ला भिराउने अर्को ठाउँ पाए ।

    एमाले एकता कार्यदलले २७ असारमा १० बुँदे सहमति तयार त गर्यो तर त्यसमा तत्कालै नेपालले असन्तुष्टि जनाइहाले । असन्तुष्टि जनाउनुको कारण थियो– आफूलाई अध्यक्ष बनाइनुपर्ने । तर एमालेको नवौं महाधिवेशनबाट चुनिएर आएका ओली नेपालको अडानकै भरमा उनलाई अध्यक्ष टक्र्याइहाल्न तयार छैनन् । किनभने अबको १६ महिनापछि आउने चुनावमा पार्टीबाट ककसलाई टिकट दिने भन्ने निर्णय ओली एक्लै गर्न चाहन्छन् । नेपाललाई अध्यक्ष दिएको खण्डमा ‘प्रतिगमनकारी’ को ट्याग लागेका ओली पार्टीभित्रै अल्पमतमा पर्ने सम्भावना धेरै टाढा हुँदैन ।

    ३० असारमा बालुबाटारबाट बालकोट पुगेका ओली त्यस यताका सबैजसो भाषणमा नरम सुनिन थालेका छन् । यता नेपालले पनि पछिल्लो समय ओलीप्रति मत्थर भएका छन् । ओलीबिना छुट्टिहाल्न नेपाललाई अफ्ट्यारो भएको बुझेरै हुनुपर्छ - क्वालिटी बैंक्वेटमा शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नेपालले भने, ‘ओलीले जति गाली गरे पनि म पार्टी एकताको पक्षमा छु ।’

    ओलीले पनि नेपालसँग नम्र व्यवहार नै चाहेका छन् । तर नेपालले राखेको पछिल्लो अडानसँग ओली पटक्कै सहमत नभएको ओलीनिकट नेताहरू बताउँछन् । ‘पार्टी एकताका लागि लचिलो हुने कुरा आफ्नो ठाउँमा छ । तर के पार्टी बचाउने नाममा अधिवेशनको म्यान्डेट र विधानको मर्मविपरीत चल्ने छुट उहाँ (नेपाल)लाई छ ?’ ओलीनिकट एक केन्द्रीय सदस्य टिप्पणी गर्छन् । ओलीलाई पनि नेपालबिनाको एमाले बनाउन सजिलो छैन । किनभने युवा, विद्यार्थी, महिलालगायत जनसंगठनमा नेपालपक्षले राम्रै उपस्थिति देखाएर ओलीलाई चुनौती दिँदै आएका छन् ।

    २२ जना सांसद साथै केन्द्रीय कमिटी र स्थायी कमिटीमा पनि लगभग ओलीकै हाराहारीमा सदस्यहरू नेपालसँग छन् । यसले गर्दा ओलीले नेपाललाई एमालेबाट ‘आउट’ गर्ने नभई नेपालबाट ओलीले समन्वकारी भूमिका चाहेको प्रष्टै बुझिन्छ । ‘तर यही अवस्थामा हामी ओलीसँग मिल्न सक्दैनौं । उनले गल्ती गर्दै जाने हामीले सहँदै जाने यस्तो त हुँदैन,’ नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले वेबटिभी खबरसँग भने, ‘आफ्ना गल्ती, कमीकमजारीप्रति आत्मआलोचना गर्दै हाम्रो अडानप्रति सहिष्णु देखिए मात्र हामी भोलिको केन्द्रीय कमिटीमा उपस्थित भएर पार्टी एक ठाउँमा भएको सन्देश दिन्छौं । ओलीको अहिलेको व्यवहारले त्यो सम्भव देखिँदैन ।’

    नेपालपक्ष ओलीको हठलाई पार्टी एकताको बाधकका रूपमा बुझिरहेको छ भने ओलीपक्ष, ‘मागेर होइन भिडेर अध्यक्ष लिन’ चुनौती दिँदै पार्टी एकताको पहल गरिरहेको छ । अध्यक्षको अडान फ्याँकेर वरिष्ठ नेताकै आधारमा पार्टी एकता गरेर नेपालले मार्गप्रशस्त गरिदनिुपर्ने ओलीले चाहेका छन् ।

    ‘के अडान राखेर कुन पक्ष आउने नआउने भन्ने प्रश्नै भएन नि, पार्टीले भोलि बैठक राखेको हो सबै केन्द्रीय सदस्य आउनुपर्छ, कुरा यत्ति हो,’ ओलीपक्षीय केन्द्रीय सदस्य सुर्य थापाले भने, ‘बैठकमा आएर छलफल गरेपछि निष्कर्ष निस्कन्छ । यो अडान पुरा भएमात्र बैठकमा आउँछु भन्ने हठ कसैमा छ भने त्यो त्याग्नुपर्छ ।’ ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठक एमाले एकताको आधार बन्न सक्ने सम्भावना छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology