वेबटिभी खबर
काठमाडौं । बिहीबार महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई खोज्न सुरक्षा निकायले ड्रोनको प्रयोग गर्ने भएको छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयोग गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले बताएको छ ।
सुरक्षाकर्मीले व्यास गाउँपालिका दुई मालदेखि महाकाली नगरपालिकाको खलंगा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले जानकारी दिइन् । सरकारले गठन गरेको छानविन समितिले एकपटक ड्रोन क्यामरामार्फत शव खोजी गर्न आग्रह गरेपछि ड्रोन परिचालन गर्ने तयारी भएको छानविन समितिको सदस्यसमेत रहेकी भट्टले बताइन् ।
१९ साउनमा खलंगा पुगेको सरकारी उच्चस्तरीय छानविन समितिले पनि सो घटनाको छानविनलाई निरन्तरता दिइरहेको छ । समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत धामीको शव खोजी गर्ने तयारी भइरहेको नेपाल जानकारी दिए । स्थानीयबासी र प्रत्यक्षदर्शीहरुले भारतीय एसएसबीले तुइनको तार काट्दा धामी नदीमा खसेको बताए पनि सरकारी पक्षबाट यसको पुष्टि भने भइसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij