वेबटिभी खबर
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ‘तपाईंको मास्क खै ?’ अभियानलाई कडाइका साथ कार्यान्वयनलाई तीव्रता दिएको छ ।
काठमाडौंसहित उपत्यकाका तीनै जिल्लामा कोभिड-१९ को संक्रमण बढेको तथ्यलाई मध्यनजर गर्दै महाशाखाले उक्त अभियानलाई कडाइका साथ लागु गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।
साधारणलाई कोभिड-१९ संक्रमणबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गराउँदै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खै ?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियानलाई निरन्तरता दिएको हो ।

महाशाखाका एसएसपी भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयका ९ सय जना ट्राफिक प्रहरीहरुलाई मंगलबारबाट ड्युटीको समयमा अनिवार्य उक्त रिबन प्रयोगमा ल्याउन सुरु गरेको महाशाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आमसर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

‘महाशाखाले यसअघि अनिवार्य मास्कको प्रयोग गर्न, गराउन ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिवार्य मास्कको प्रयोगमा कडाइ गराउँदै आएको छ,’ कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘कोभिड-१९ बाट बच्न र बचाउन सर्वसाधारणमा सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सीटक्षमताभन्दा बढी यात्रु नचढाउने सवारी साधनलाई कारबाही गर्नेलगायतका कार्यक्रम गर्दै आएका छौं । सरकारले जारी गरेको मापदण्डलाई कार्यान्वयन गराउन महाशाखा प्रतिबद्ध छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij