Logo

२०८३, आश्विन २५ गते आइतवार

२०८३, आश्विन २५ गते आइतवार

अब वडाबाटै मतदान गरेर कांग्रेस सभापति छानौँ : गगन थापा

अब वडाबाटै मतदान गरेर कांग्रेस सभापति छानौँ : गगन थापा

  • 193
    SHARES
  • अब वडाबाटै मतदान गरेर कांग्रेस सभापति छानौँ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी महाधिवेशनदेखि पार्टी सभापति छान्न देशभरका वडाबाटै मतदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । महाधिवेशनअन्तर्गत मतदानस्थल राष्ट्रिय सभा गृहबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको नेतृत्व चयनका लागि सबै महाधिवेशन प्रतिनिधिलाई एकै ठाउँमा भेला गराएर मतदान गराउने परम्परालाई अन्तिम बनाउनुपर्ने बताए ।

    उनले प्रविधि र कनेक्टिभिटीको विकास भइसकेकाले अब देशभर रहेका पार्टीका सदस्यले आफ्नै वडाबाट मतदान गरेर सभापति चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । ‘त्यसैले मैले प्रस्ताव गरेको छु, अर्को पटकदेखि पार्टीको सभापति यसरी एक ठाउँमा आएर नछानौँ । हामी आठ-नौ लाख साथीहरू जहाँ छौँ, हामीले आफ्नो-आफ्नो वडामा त्यहीँ भोट हालौँ, त्यसले सभापति छानौँ,’ उनले भने । थापाले कांग्रेसमा सात तहसम्म निर्वाचनको अभ्यास हुँदा उम्मेदवार र मतदाता दुवै थाक्ने गरेको उल्लेख गरे । विगतमा प्रविधि र कनेक्टिभिटीको अभावका कारण यस्तो निर्वाचन प्रणाली अपनाउन बाध्य भएपनि अहिले अवस्था फेरिएको उनको भनाइ थियो ।

    उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो हुनुका साथै विभिन्न तहमा प्रतिस्पर्धा गर्दा पार्टीभित्रै एकले अर्कालाई हराउने अवस्था सिर्जना हुने बताए । त्यसैले पार्टीको निर्वाचन प्रक्रियालाई समयअनुकूल बनाउनुपर्नेमा उनले जोड दिए । सभापति थापाले वर्तमान महाधिवेशनमा प्रतिस्पर्धा गरेका सबैलाई समेटेर अघि बढ्नुपर्ने पनि बताए । निर्वाचनमा जित्ने र हार्ने दुवै पक्ष कांग्रेसभित्रकै साथी भएकाले पराजित हुनेहरूलाई पनि जिम्मेवारी दिएर पार्टीमा जोड्नुपर्ने उनको भनाइ थियो ।

     ‘यो निर्वाचन हो, हाम्रो बीचमा हेल्दी कम्पिटिसन हो । हार्ने-जित्ने हामीभित्रकै साथीहरू हौँ । हाम्रो एकदमै बाहिरको च्यालेन्ज धेरै ठूलो छ,’ उनले भने । निर्वाचनमा आफ्नो नाम जोडेर विभिन्न प्यानल वा समूह निर्माण गरिएको भन्ने विषयमा पनि उनले स्पष्ट पारे । थापाले आफ्नो नाममा विभिन्न सूची सार्वजनिक भइरहेका भन्दै ती सबै आफूले बनाएको भनेर विश्वास नगर्न आग्रह गरे । ‘मेरो नाममा २८ वटा सूची आइसकेका छन्। ती सबै सूची मैले बनाएको भनेर विश्वास नगर्नुहोला,’ उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij