Logo

२०८३, आश्विन २७ गते मंगलवार

२०८३, आश्विन २७ गते मंगलवार

नेपाल-भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने

नेपाल-भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने

  • 95
    SHARES
  • नेपाल-भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने

    काठमाडौं । भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर-सोनबरसा र खगडिया-पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल-भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् । कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिनेछन् । हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्चल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

    मुजफ्फरपुर-सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने

    नेपालको सीमासम्म द्रुत पहुँच पुर्‍याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर-सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो । ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ । यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ । यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ ।

    खगडिया-पूर्णिया खण्ड स् नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने

    ३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया-पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ । यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । पूर्णियामा ६।७ किलोमिटर लामो ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गरिने भएकाले सहरमा सवारी चाप कम हुनुका साथै नेपाल तथा पश्चिम बंगालतर्फ जाने मालसामान ढुवानी द्रुत हुनेछ । साथै स्थानीय मकै, जुट लगायतका कृषि उपजले सहज बजार पाउनेछन् । 

    धार्मिक पर्यटन र रामजानकी मार्गसँग जडान

    यो नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग समेत जोडिनेछ । यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा थप सुगम बन्ने र समग्र क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । भारत सरकारको यस कदमलाई सीमा क्षेत्रमा काम गर्दै आएको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ ले स्वागत गरेको छ । संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले भारत-नेपाल सम्बन्ध सुदृढ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपालतर्फबाट यस संस्थाको नेतृत्व पत्रकार अनिल तिवारीले गर्दै आएका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij