Logo

२०८३, कार्तिक ७ गते शुक्रवार

२०८३, कार्तिक ७ गते शुक्रवार

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

  • 79
    SHARES
  • हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

    काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो ।

    उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए । गत असोज १० र ११ गते भएको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए । लामो समयसम्म पशु फेला नपरेपछि स्थानीयवासीले तिनलाई जीवितै भेट्ने आशासमेत कम गरिसकेका थिए । तर, खोजीमा गएको टोलीले साँक्या खोलामा पशुहरू जीवितै फेला पारेपछि स्थानीयवासी खुसी भएका छन् ।

    वडाध्यक्ष तामाङका अनुसार पशुको खोजीका लागि चारवटा समूह बनाएर टोली परिचालन गरिएको थियो । खोजीका क्रममा ३०७ पशु सकुशल फेला परेपछि उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको उनले बताए । ‘२७ दिनसम्म घाँस नखाएर पनि पशुहरू बाँच्न सफल भएछन् । जीवितै भेटिने आशा कम भइसकेको अवस्थामा पशुहरू फेला परेपछि हामी खुसी भएका छौँ,’ उनले भने । उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन् । लामो समयसम्म हिउँमा फसेका घोडाले आफ्नो पुच्छर आफैँ खाएको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताए । उद्धार गरिएका कुनै पनि घोडाको पुच्छर बाँकी नरहेको उनको भनाइ छ ।

    पशुको खोजीका लागि चारवटा समूह परिचालन गरिएकामा तीनवटा समूह अझै खोजीमै रहेको उनले जानकारी दिए । बाँकी समूहले खोजी जारी राखेकाले थप पशु फेला पर्न सक्ने अपेक्षा गरिएको छ । भारी हिमपातका कारण उच्च पाटनमा चरिरहेका पशु बेपत्ता भएपछि स्थानीयवासी चिन्तित बनेका थिए । ठूलो संख्यामा पशु हराएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो । सडकमा जमेको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहज भएको हो । लामो समयसम्म हिउँमा फसेका पशु जीवितै भेटिएपछि लिमीवासीले राहत महसुस गरेका छन् । हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पशुचौपाया जोखिममा पर्ने समस्या फेरि एकपटक उजागर भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij