Logo

२०८३, कार्तिक ९ गते आइतवार

२०८३, कार्तिक ९ गते आइतवार

संघीय गणतन्त्रपछि कर्णालीमा विकास र अधिकार स्थापित भएका छन् : मुख्यमन्त्री शाही

संघीय गणतन्त्रपछि कर्णालीमा विकास र अधिकार स्थापित भएका छन् : मुख्यमन्त्री शाही

  • 49
    SHARES
  • संघीय गणतन्त्रपछि कर्णालीमा विकास र अधिकार स्थापित भएका छन् : मुख्यमन्त्री शाही

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चारको पहुँच विस्तार भएको बताएका छन् । आइतबार हुम्लाको अदानचुली गाउँपालिका-३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा चामल र नुन ल्याउनसमेत निकै दुःख गर्नुपर्ने अवस्था रहेको स्मरण गरे ।

    ‘म २०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपथ्र्यो। बाटोमा भारी बोकेर जान्थ्यौँ, उताबाट ल्याउँदा पनि भारी बोकेर आउँथ्यौँ,’ उनले भने । मुख्यमन्त्री शाहीले आफू विद्यार्थी हुँदा मट्टीतेलको अभावमा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा हातहातमा मोबाइल रहेको बताए। संघीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले बुझ्नुपर्ने उनको भनाइ थियो । उनले विकासका केही योजना अधुरा रहेको स्वीकार गर्दै विगत र वर्तमानको अवस्थालाई तुलना गर्न आग्रह गरे ।

    दलित समुदायमाथि हुने विभेद र महिलाको शिक्षामा पहुँचको अवस्थासमेत विगतको तुलनामा परिवर्तन भएको उनले बताए । ‘आजभन्दा ३० वर्षअघि दलित समुदायका व्यक्तिले छोएको रोटीसमेत धेरैले खाँदैनथे । घरभित्र प्रवेश गर्न अनुमति थिएन। तर आज त्यो अवस्था छैन । हामी सम्मानपूर्वक बाँच्न पाएका छौँ,’ उनले भने । आफू शिक्षक पेसा छाडेर १२ वर्ष जनयुद्धमा लागेको स्मरण गर्दै शाहीले महिला, दलित र पछाडि परेका क्षेत्रको विकास तथा अधिकार स्थापित गर्न संघर्ष गरेको बताए । उनले संघीय गणतन्त्रबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै कर्णालीको विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij