वेबटिभी खबर
काठमाडौं । प्रकृति बिना मानव जीवनको कल्पना गर्न सकिँदैन । यही प्रकृतिले हामीलाई जीवन दिन्छ, ऊर्जा दिन्छ । प्रकृतिमा कैयौं अनौठा र रहस्यमय स्थलहरू छन्, जहाँ पुग्ने इच्छा हरेक प्रकृति प्रेमीको हुन्छ । यस्ता स्थानमा पुगेपछि मानिसहरू सौन्दर्यको रमाइलो अनुभूति गर्दै स्मृतिमा अमिट छाप बोकेर फर्कन्छन् । ताप्लेजुङ जिल्लामा पनि यस्ता अनेकौं रहस्यमय स्थलहरू छन्, तर तीमध्ये धेरैजसो अझै ओझेलमा छन् ।
मिक्वाखोला गाउँपालिका-५ मा रहेको सोना पोखरी पनि त्यस्तै एउटा गुमनाम प्राकृतिक सम्पदा हो । यस पोखरीमा स्थानीयहरू पुग्ने गरेपनि हालसम्म गहिरो अध्ययन वा अनुसन्धान भएको छैन । स्थानीयवासीका अनुसार, एकजना लामा चीनबाट आएर पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पसेका थिए । त्यसपछि उनी पोखरीमै हराएको जनविश्वास रहिआएको छ । यही किंवदन्तीका आधारमा यस पोखरीको नाम ‘सुन पोखरी’ रहन गएको भनिन्छ । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा अवस्थित सोना पोखरी प्राकृतिक सौन्दर्यले भरिएको छ ।
तर, प्रचारप्रसारको अभावमा पर्यटन विकास हुन नसकेको मिक्वाखोला गाउँपालिका-५ का पान्दे शेर्पाले बताउनुभयो । उनका अनुसार, सोना पोखरी क्षेत्र वरपर अन्य साना पोखरीहरू पनि छन् । लोदेन क्षेत्र आफैंमा पर्यटकीय सम्भावना बोकेको भए पनि यसतर्फ कसैको चासो देखिएको छैन । ताप्लेजुङमा प्रख्यात पोखरीहरूमा तिम्बुङ पोखरी, सोदु पोखरी र सिङ्जेमा ताललाई चिनिन्छ । ती सबै पोखरीहरूको अवलोकन गरिसकेका विवस केदेम यसपटक सोना पोखरी पुगे । अवलोकनपश्चात उहाँले सोना पोखरी पनि कुनै हिसाबले ती पोखरीहरूभन्दा कम नरहेको बताए ।
तर, यस क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनमा सरोकारवालाहरूको ध्यान नपुगेकाले सुन पोखरी अझै ओझेलमा रहेको उनको भनाइ छ । सोना पोखरीसम्म पुग्न अहिलेसम्म उचित पदमार्ग निर्माण भएको छैन । गोठालाहरू प्रयोग गर्ने गोरेटो बाटो हुँदै याक र भेडी गोठहरू पार गरेरमात्र त्यहाँ पुग्न सकिन्छ । पोखरीको लम्बाइ, चौडाइ, गहिराइ आदिको हालसम्म कुनै नापजाँच नभएको पनि स्थानीयहरू बताउँछन् । यसको महत्व, विशेषता र किंवदन्तीको अनुसन्धान आवश्यक रहेको उनीहरूको सुझाव छ । फुङ्लिङबाट सवारीसाधन प्रयोग गरी सिम्बुकसम्म एक दिनमा पुग्न सकिन्छ । सिम्बुकदेखि पदमार्ग हिँडेर अर्को दिन ‘ढड्ने’ भन्ने स्थान पुगिन्छ । त्यहाँ बास बसेर बिहानै सोना पोखरी अवलोकन गर्न सकिन्छ ।
मिक्वाखोला-४ का मिलन लिम्बूका अनुसार, सिम्बुकदेखि ढड्ने मार्गमा स्थान-स्थानमा स्थानीयहरूले आफ्ना आफन्तको सम्झनामा पाटी र पौवा निर्माण गरेका छन् । कतिपय पाटीहरूमा ओढ्ने, ओढ्याउने र पकाउने भाँडासमेत राखिएको पाइन्छ । उच्च हिमाली क्षेत्रका पोखरीहरू पर्यटकीय गन्तव्य मात्र नभई पानीका स्रोत पनि हुन् । यस्ता पोखरीहरूबाट बग्ने पानीले पहाडदेखि तराईसम्मका बस्तीहरूमा खानेपानी, सिंचाइ र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij