Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनस्थापना

बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनस्थापना

  • 100
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनस्थापना

    काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित क्षेत्रमा प्रहरी परिचालन, सुरक्षा व्यवस्था र खोजी कार्यको अवस्थाबारे जानकारी गराएका हुन् ।

    प्रहरी महानिरीक्षक कार्कीका अनुसार बेत्रावती, स्याफ्रुबेँसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरीको उपस्थिति पुनःस्थापित गरिएको छ । स्याफ्रुबेँसीमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ भने यसअघि भौगोलिक अवस्थाका कारण छाडिएको हाकु क्षेत्रमा समेत पुनः प्रहरी चौकी स्थापना गरिएको छ । उनले भने, ‘प्रभावित क्षेत्रमा प्रहरी चौकीहरूको पुनःस्थापना कार्य अघि बढाइएको छ । बेत्रावती, स्याफ्रुबेसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको छ । स्याफ्रुमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालित छ । प्रहरीको मुख्य जिम्मेवारी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्नु र बेपत्ता व्यक्तिहरूको शव खोजी कार्यलाई निरन्तरता दिनु हो । स्थानीय जनगुनासोका आधारमा पनि खोजी कार्य गर्नुपर्ने भएकाले प्रहरीको स्थानीय उपस्थिति आवश्यक छ । हाल उपलब्ध म्यानुअल विधिबाट खोजी कार्य जारी छ । जमिनमुनि शव पहिचान गर्न सक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ । आगामी दिनमा प्रहरी चौकीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानीय सुरक्षा र नागरिकका दैनिक सेवाहरूलाई प्रभावकारी बनाउने योजना रहेको छ ।’

    उनले प्रभावित क्षेत्रमा सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्ने तथा बेपत्ता व्यक्तिहरूको शव खोजी गर्ने कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको बताए । स्थानीयवासीबाट प्राप्त सूचना तथा जनगुनासोका आधारमा समेत खोजी कार्य गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको उनको भनाइ छ । हाल उपलब्ध जनशक्ति र म्यानुअल विधिको प्रयोगबाट खोजी कार्य भइरहेको उनले जानकारी दिए । जमिनमुनि पुरिएका शव पहिचान गर्न सक्ने आधुनिक प्रविधिको आवश्यकता औँल्याउँदै प्रहरी महानिरीक्षक कार्कीले डेढ मिटरसम्म जमिनमुनि रहेका शव पहिचान गर्न सक्ने उपकरणबारे जानकारी प्राप्त भएपनि नेपाल प्रहरीसँग त्यस्तो प्रविधि हाल प्रयोगमा नरहेको बताए ।

    प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि उपयुक्त स्थान पहिचान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले स्थानीय नागरिकको सुरक्षा तथा दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रहरी उपस्थिति थप व्यवस्थित गरिने जानकारी दिए । उनले विपद् प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिँदै स्थानीय सुरक्षा व्यवस्था सुदृढ बनाउने र नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउने योजना रहेको पनि बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij