Logo

२०८३, कार्तिक १८ गते मंगलवार

२०८३, कार्तिक १८ गते मंगलवार

हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

  • 48
    SHARES
  • हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् ।

    गाँजा लोड भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए । पक्राउ परेकाहरूले प्रयोग गरेका बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीबाट २०९ किलो ४२० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा सेवन नियन्त्रणका लागि सुनसरी प्रहरीले सञ्चालन गरिरहेको अभियानमा सहयोग गर्न प्रहरीले आम नागरिकसँग आग्रह गरेको छ । युवा पुस्ताको भविष्य जोगाउन, समाजलाई सुरक्षित बनाउन र लागूऔषध कारोबारको सञ्जाल तोड्ने अभियानमा प्रहरी र नागरिकबिच सहकार्य आवश्यक रहेको प्रहरी उपरीक्षक मल्लले बताए । लागूऔषध कारोबारमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन निष्पक्ष अनुसन्धान र प्रभावकारी कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

    लागूऔषध नियन्त्रणको सवालमा कुनै किसिमको सम्झौता नहुने उनले बताए । ‘अपराधीलाई संरक्षण होइन, कानुनी कारबाही हुनुपर्छस त्यसमा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रतिबद्ध छ,’ उनले भने । मल्लले थप भने, ‘सूचना दिनुहोस्, प्रहरीलाई सहयोग गर्नुहोस्, लागूऔषधमुक्त समाज निर्माणमा सबैको साथ र सहभागिता आवश्यक छ । लागूऔषध कारोबारमा ३० देखि ३५ वर्षमुनिका युवा पुस्ताको बढी संलग्नता देखिएकाले भोलिका दिनमा समाजको अवस्था अन्धकारमय हुनबाट जोगाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij