वेबटिभी खबर
काठमाडौं । विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो । उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट बनेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।
सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ । बैंकिङ क्षेत्रमा नबिल बैंक लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् । वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार सीजी इम्पेक्स प्रालि उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट करदाता बनेको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउनेमध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।
बीमा क्षेत्रतर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट बनेका छन् । लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । यसरी बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका करदाता उत्कृष्ट करदाताको सूचीमा परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij