Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

  • 60
    SHARES
  • स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदिश खरेलले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने विकल्पबारे राजनीतिक दलहरूबीच छलफल भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले निर्वाचनको मिति, खर्च, कानुनी तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर एकैपटक निर्वाचन गर्ने वा फरकफरक समयमा गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

    उनका अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै, २०८४ सालको मङ्सिर पहिलो साता प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद सकिन्छ र निर्वाचन ऐनको दफा ३ को उपदफा १ बमोजिम दुई महिना अगाडि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यसैले जेठ ५ भन्दा दुई महिना अगाडि स्थानीय तहको निर्वाचन हुनुपर्ने अवस्था छ भने मङ्सिरको पहिलो हप्ता प्रदेशको निर्वाचन गर्नुपर्ने अवस्था छ। यी दुईवटै निर्वाचन एकै समयमा गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल भयो ।’

    खरेलले पटकपटक निर्वाचन गर्दा राज्यको खर्च बढ्नुका साथै विकास निर्माण र प्रशासनिक कामसमेत प्रभावित हुने बताए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झन्डै १८ अर्ब रुपैयाँ खर्च भएको उल्लेख गर्दै उनले निर्वाचन खर्च घटाउने विकल्प खोज्नुपर्ने धारणा राखे । उनले भने, ‘अहिले गत सालकै चुनावमा फागुन २१ को चुनावमा झन्डै १८ अर्ब खर्च भएको छ । अब त्यो खर्च अझै बढ्न सक्छ । एउटा चुनावमा २० अर्ब रुपैयाँ खर्च भयो भने त्यसले कति सय किलोमिटर बाटो बनाउन सकिन्छरु २०० मेगावाट बिजुली निकाल्न सकिन्छ होला ।’ उनले निर्वाचनका कारण बजेट विनियोजन र विकास खर्चमा समेत असर पर्ने बताए । वर्षभरि विभिन्न तहका निर्वाचन भइरहँदा सरकारको ध्यान विकासभन्दा निर्वाचनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

    खरेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने तथा इन्टरनेट र विद्युतीय मतदान प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले विगतदेखि नै आफ्नो वाचापत्र, घोषणापत्र र प्रतिबद्धतापत्रमा विदेशमा रहेका नेपालीहरूले चुनावमा भोट हाल्न पाउनुपर्छ भन्ने आवाज उठाउँदै आएको छ । यस विषयमा पनि छलफल भएको छ । अबको चुनावलाई प्रविधिमैत्री बनाउन इन्टरनेट भोटिङदेखि इलेक्ट्रोनिक भोटिङ मेसिनसम्मका विषयमा कुरा भएको छ ।’

    उनका अनुसार निर्वाचनमा बदर मत घटाउने विषयमा पनि आयोगले गृहकार्य गर्ने जनाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिकतर्फ ३ प्रतिशत मत बदर भएको विषय छलफलमा उठेको उनले बताए । खरेलले निर्वाचनसम्बन्धी निर्णय गर्दा संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत जान नहुने स्पष्ट पारे । स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा थप छलफल हुने उनले बताए । उनले भने, ‘संवैधानिक, कानुनी, राजनीतिक, प्राविधिक र आर्थिक पाटोबाट जे सजिलो विकल्प हुन्छ र राष्ट्रिय तथा राजनीतिक सहमति हुन्छ, त्यही आधारमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ भन्ने कुरामा राजनीतिक दलहरूबीच सहमति भएको छ।’ खरेलले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै तत्कालीन अन्तरिम सरकार, निर्वाचन आयोग, सञ्चारमाध्यम र नेपाली जनतालाई धन्यवादसमेत दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij