वेबटिभी खबर
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले साहित्य समाजको वास्तविक अवस्था, चरित्र र नागरिकका भावना बुझ्ने सशक्त माध्यम भएको बताएका छन् । आइतबार आयोजित बाह्रखरी कथा लेखन प्रतियोगिताका विजेता घोषणा कार्यक्रममा बोल्दै उनले साहित्य र कला कुनै पनि देशका अमूल्य सम्पत्ति भएको बताए । ‘समाजले भोगेका दुःख, सुख, सघर्ष, अभाव, विकृति, विसंगति र परिवर्तनका आकाक्षालाई बुझ्ने सबै भन्दा सशक्त माध्यम साहित्य हो,’ उनले भने ।
बाह्रखरी कथा प्रतियोगितामा सहभागी कथाहरूले नेपाली समाजका गरिबी, अशिक्षा, अभाव, विभेद र विसंगतिलाई उजागर गर्दै आम नागरिकका आवाज अभिव्यक्त गरेको उनको विश्वास थियो । उनले भने,‘प्राकृतिक विपद्, सामाजिक चुनौती र समसामयिक घटनाहरू पनि साहित्यका महत्त्वपूर्ण विषय हुन्। यस्ता सिर्जनाले समाजलाई मात्र होइन, नीति निर्माण र नेतृत्व तहलाई समेत जनताको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछन्,’ उनले भने । आफू साहित्यमा गहिरिएर नलागेपनि साहित्यप्रति अनुराग र सम्मान सँधै रहेको उल्लेख गर्दै उनले समय र परिस्थितिले आफूलाई व्यवसाय हुँदै राजनीतितर्फ डोर्याएको बताए ।
जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै नेतृत्वले इमानदारी, प्रतिबद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने उनले बताए । ‘हामीसँग साधन र स्रोत सीमित छन् । जनताका सबै अपेक्षा तत्काल पूरा गर्न सम्भव नहुन सक्छ तर उपलब्ध स्रोतको पारदर्शी, प्रभावकारी र इमानदार परिचालन गर्न सकियो भने विकास र समृद्धिको यात्रालाई गति दिन सकिन्छ,’ उनले भने । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले साहित्यकारहरूले समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउनुपर्ने बताए । ‘साहित्यकारहरूले समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij