वेबटिभी खबर
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षापछि पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामन्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij