वेबटिभी खबर
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्ससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २ बुङमती घर भई हाल जोरपाटी बस्ने ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका– ६ घर भई हाल मुलपानी बस्ने ३१ वर्षीय कल्पना दाहाल छन् ।
सवारी साधनसम्बन्धी सरकारी कागजात कीर्ते गरेको भन्ने विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका– ६ मुलपानीस्थित राइजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० जनक भट्टराईले जानकारी दिए ।
तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्भर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो । दाहालको साथबाट गीताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमती पत्र नम्बर ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
‘ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौं व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई कीर्ते गर्दै आएको खुलेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कानुनी कारबाहीका लागि प्रहरी वृत्त, सिंहदरबारमा बुझाइएको छ,’ एसएसपी भट्टराईले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij