वेबटिभी खबर
सर्लाही । लालबन्दी नगरपालिका १७ कि किशोरीको हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले शुक्रबार सर्लाही जिल्ला प्रशासन कार्यालयमा नाराबाजी र प्रदर्शन गरेका छन् ।
गत साउन ३१ गते साँझ घरबाट हराएकी १६ वर्षीया प्रियंकाको शव तीन दिनपछि घरभन्दा केही पर कालिन्जोर खोलमा भेटिएको थियो । उनको हत्या भएको दाबी गर्दै स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
दुई किशोरीको शव खोलामा भेटियो, हत्या भएको आशंका
स्थानीयले चार बुँदे माग राख्दै शुक्रबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अघिल्तीर नाराबाजी गरेका छन् । दोषी पहिचान गरी छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने, घटनामा संलग्न भएको हुनसक्ने थप संकासस्पदलाई छानविनको दायरामा ल्याउनु पर्ने, कल डिटेलको आधारमा अनुसन्धान अघि बढाउनुपर्ने लगायतका माग राखिएको छ ।
यसअघि बुधबार पनि स्थानीयले लालबन्दीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रहरीले प्रियंकाको शव फेला परेपछि अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले हत्यामा अरुको पनि संलग्नता भएको दावी गरेका छन् ।
एकसाता अघि पनि सर्लाहीको बहरथवामा १६ वर्षीया किशोरीको शव खोलामा भेटिएको थियो । साउन २७ गते घरबाट हराएकी बरहथवा नगरपालिका ११ हिरापुरकी १६ वर्षीया लालो राउतको शव २८ गते मनुष्मारा खोलको व्यारेजमा फेला पर्यो । लालोको शव हात बाँधेको अवस्थामा फेला परेको थियो ।
एक साताको अन्तरालमा सर्लाहीको दुई स्थानमा १६ वर्षीया किशोरीको रहस्यमय मृत्यु हुनुले स्थानीय त्रसित भएका छन् ।
दुवै घटनामा प्रहरीले अनुसन्धान भइरहेको बताए पनि दोषी किटान गर्न सकेको छैन् । लगातार किशोरीको हत्या हुनुले आतंक बढाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij