वेबटिभी खबर
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाललाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले १८औँ निजामती सेवा दिवसको अवसरमा मंगलबार प्रमुख प्रशासकीय अधिकृत दाहाललाई १० हजार राशीको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो ।
१७ मंसिर २०७५ मा प्रमुख प्रशासकीय अधिकृत बनेर गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको समृद्धि र विकासका लागि अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो । उत्कृष्ट कर्मचारीको सम्मान र प्रोत्साहनमा गाउँपालिका आफैले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार स्थापना गरेको जनाएको छ ।
त्यस्तै, गाउँसभा सदस्य स्वर्गीय नारायणप्रसाद श्रेष्ठको स्मृतिमा स्थापना गरिएको स्मृति कोषको व्याजबाट अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याब असिस्टेन्ट सविना तामाङ र वडा सचिव सञ्जिव आचार्यलाई नगद १०/१० हजार सहित पुरस्कृत गरिएको छ । कोभिड-१९ को महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर टोल-टोलमा पुगेर एन्टिजेन परीक्षण गर्दै महामारी रोकथाम तथा नियन्त्रणमा पुर्याएको योगदानको कदर गर्दै ल्याव असिस्टेन्ट तामाङलाई पुरस्कृत गरिएको हो ।
गाउँपालिकाका सात वटा सचिवमध्येबाट उत्कृष्ट कार्य सम्पादन गरेबापत आचार्यलाई स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोषवापतको पुरस्कार प्रदान गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij