वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् ।
नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज पर्व ०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।
‘तीज विगतमा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृति हटाउँदै जानुपर्छ, तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवम् भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ,’ मुख्यमन्त्री शाहीद्वारा बिहीबार जारी शुभकामना सन्देशमा उल्लेख छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको उनले उल्लेख गरेका छन् ।
कोभिड–१९ को संकट कायमै रहेकाले यसको संक्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन घरमै बसेर खुसीसाथ तीज मनाउन सुझाउँदै मुख्यमन्त्री शाहीले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवम् कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij