काठमाडौं । नेकपा एमालेका स्थायी समितिका सदस्य भीम रावलले पार्टी अध्यक्ष ओलीले गरेका निर्णय फिर्ता लिन सहमत नभई आजको बैठक सम्पन्न भएको बताएका छन् ।
आज एमाले पार्टी कार्यालय धुम्बारहीमा अध्यक्ष ओली र वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्षका नेताबीच भएकाे छलफल ठाेस निष्कर्ष ननिकाली सकिएकाे रावलले बताए ।
नेपाल पक्षले २८ गते ओलीले राखेकाे बैठकबाट भएका सबै काम रद्द हुनुपर्ने माग राखेकाे थियाे । त्यसमा ओली पक्ष सकारात्मक नभएकाे रावलले बताए ।
‘हामीले राष्ट्रिय भेला गर्न खोज्दा चाहिँ अध्यक्षज्यूलाई मान्य नहुने तर २८ गते उहाँ (ओली)ले बालुवाटारमा एकलौटी रुपमा गर्नु भएको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय चाहिँ हामीले मानिदिनु पर्ने ? यस्तो पनि हुन्छ ?’ बैठकमा सहभागी रावलले पार्टी कार्यालय धुम्बारहीमा सञ्चारकर्मीहरुसँग भने ।
खनाल–नेपाल पक्षले ४ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भनेको छ, बैठकमा ओलीले सो भेला आयोजना नगर्ने भन्ने आशय व्यक्त गरेका थिए ।
२८ गतेको केन्द्रीय कमिटीको निर्णय फिर्ता लिन नमानेपछि अध्यक्ष ओलीले भोलि बालुवाटारमा आयोजना गर्ने चियापान समारोहमा आफूहरु उपस्थित नहुने पनि बैठकमा जानकारी गराइएको रावलले बताए ।
‘२८ गतेको बैठकमा हामी सहभागी नभई गरिएका निर्णय पहिला फिर्ता हुनुपर्छ, अनि मात्र हामी अध्यक्षज्यूले बोलाएका बैठकमा उपस्थित हुनेछौं । २३ गते सर्वोच्चले एमालेलाई ०७७ जेठ २ कै अवस्थामा पुर्याएपछि पार्टीका काम कारबाही पनि त्यहींको बिन्दुबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो अडान यथावत छ,’ रावलले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij